बलिउड स्टार आमिर खान ‘महाभारत’ र सुपर हिरो थ्रिलर फिल्ममा देखिने

बलिउडका चर्चित अभिनेता आमिर खान आफ्नो दुई महत्वाकांक्षी फिल्मका तयारीमा व्यस्त छन्। आगामी जुन २० मा प्रदर्शनमा आउन लागेको ‘सितारे जमिन पर’पछि उनले ‘महाभारत’ र एक सुपर हिरो थ्रिलर फिल्ममा काम गर्ने पक्का भएको छ।



‘सितारे जमिन पर’लाई पछिल्लो समय आमिरको ठूलो महत्वको फिल्मका रूपमा हेरिएको छ। त्यसपछि उनी जीवनकै सबैभन्दा महत्वाकांक्षी मानिएको फिल्म ‘महाभारत’मा देखिनेछन्। आमिरले यसबारे प्रतिक्रिया दिंदै भनेका छन्, “महाभारतमा मेरो भूमिका यति विशेष छ कि त्यो निभाएपछि जीवनमा गर्न बाँकी केही जस्तो लाग्दैन।”



यसै अभिव्यक्तिलाई लिएर केही समयअघि आमिर फिल्मबाट सन्यास लिने तयारीमा रहेको चर्चा चलेको थियो। तर अब उनका फ्यानहरूका लागि नयाँ उत्साहजनक खबर बाहिरिएको छ।



भारतीय मिडिया टाइम्स अफ इन्डिया सँगको अन्तर्वार्तामा आमिरले अर्को फिल्मको घोषणा गरेका छन्। उनी चर्चित निर्देशक लोकेश कनगराजसँग सुपर हिरो थ्रिलर जनराको फिल्ममा काम गर्दैछन्। फिल्मको नाम खुलाइएको छैन, तर आमिरका अनुसार यो ठूलो बजेटमा निर्माण हुने फिल्म हो। उनले बताएअनुसार फिल्मको कागजी सम्झौता भइसकेको छ।
“लोकेश र म एकसाथ फिल्म गर्दैछौं। अहिले यसबारे धेरै कुरा खुलाउन मिल्दैन,” आमिरले भने। उनले यो फिल्मको छायांकन सन् २०२६ भित्र पूरा हुने जानकारी पनि दिएका छन्।
लोकेश कनगराज ‘कैथी’, ‘विक्रम’ र ‘मास्टर’ जस्ता सफल फिल्मका निर्देशक हुन्। आमिरले पनि नयाँ फिल्म साइन गर्दा निकै सोचविचार गर्ने गरेको तथ्य सर्वविदित छ। त्यसैले यी दुईको सहकार्यले दर्शक र फ्यानहरूमा ठूलो उत्साह ल्याएको छ।
यसका साथै, विभिन्न भारतीय मिडियाका अनुसार आमिर हाल दादासाहेब फाल्केको जीवनमा आधारित बायोपिकको तयारीमा पनि रहेका छन्। अब आमिरले पहिलो छायांकन कुन फिल्मको गर्ने हुन् भन्ने विषयमा दर्शकमाझ कौतूहल बढेको छ।