अर्थदेशमुख्य खबर

बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपालमा सशस्त्र प्रहरीको फायर सेफ्टी तालीम

बहुराष्ट्रिय औद्योगिक प्रतिष्ठान ब्रिटानिया नेपालमा सम्भावित आगलागीको जोखिम न्यूनीकरण तथा अग्नि सुरक्षा सजगतासम्बन्धी तालीम भएको छ । पर्साको परवानीपुरस्थित उद्योगका ११ जना अग्नी नियन्त्रकहरुलाई सशस्त्र प्रहरीले तालीम दिएको हो ।

सशस्त्र प्रहरी बल पर्साका प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा रहेको ३० जनाको टोलीले उद्योगमा तालिम दिएको सशस्त्र प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरीको टोलीले ब्रिटानिया नेपालको समग्र उद्योग परिसर र त्यहाँ अवलम्बन गरिएका सुरक्षा उपायहरूको विस्तृत रूपमा अवलोकन गरेको थियो। अवलोकन पश्चात टोलीले उद्योगले अपनाएको उच्चस्तरीय अग्नि सुरक्षा प्रणाली र चौबीसै घण्टा तयारी अवस्थामा रहने प्रविधिको प्रशंसा गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

निरीक्षणकै क्रममा सशस्त्र प्रहरीको प्राविधिक टोलीले उद्योगमा जडान गरिएको आधुनिक फायर हाइड्रन्ट प्रणालीको विशेष अध्ययन तथा परीक्षण गरेको थियो। सोही अवसरमा सुरक्षा टोलीले कुनै पनि समयमा भवितव्य आगलागी भइहालेमा उक्त फायर हाइड्रन्ट प्रणाली, होज पाइप र अग्नि नियन्त्रक उपकरणहरुलाई कसरी तत्काल सही रूपमा सञ्चालन गर्ने भन्नेबारे उद्योगका कर्मचारीहरुलाई व्यावहारिक अभ्याससमेत गराएको थियो।

औद्योगिक क्षेत्रमा सुरक्षा संवेदनशीलता उच्च रहने हुनाले यस्ता अत्याधुनिक प्रणालीको सही परिचालनले ठूलो क्षति हुनबाट जोगाउने र सुरुवाती चरणमै आगोलाई नियन्त्रणमा लिन यो तालिम निकै प्रभावकारी हुने विश्वास उद्योग प्रशासनले लिएको छ।

उद्योगका तर्फबाट प्रतिनिधिहरूले सशस्त्र प्रहरी बल पर्साको टोली र नेतृत्वलाई उद्योगको सुरक्षा प्रणालीको हौसला बढाउँदै महत्वपूर्ण प्रशिक्षण दिएकोमा विशेष धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा उद्योगका उत्पादन, गुणस्तर, सुरक्षा तथा मानव संसाधन विभागका अधिकारीहरूका साथै उद्योगमा कार्यरत प्राविधिकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button