दीपिका पादुकोण स्पिरिट फिल्मबाट बाहिरिएपछि तृप्तीले लिइन् स्थान

बलिउडकी चर्चित नायिका दीपिका पादुकोण अब निर्देशक सन्दीप रेड्डी वङ्गाको आगामी फिल्म ‘स्पिरिट’ मा अभिनय गर्ने छैनन् भन्ने खबर सार्वजनिक भएको छ।
केही समयअघि दीपिकाले यस फिल्ममा मुख्य भूमिकामा देखिने चर्चा चलेको थियो। तर भारतीय मिडियाहरूका अनुसार, निर्देशक सन्दीप र दीपिकाबीच उत्पन्न मतभेदका कारण उनले फिल्म छोडेकी हुन्।
फिल्म ‘एनिमल’ र ‘कबिर सिंह’ जस्ता हिट फिल्म निर्देशन गरिसकेका सन्दीपले दीपिकाको नाम स्पष्ट रूपमा नलिईकन सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमार्फत असन्तुष्टि पोखेका छन्। उनले एक अभिनेत्रीले कथा गोप्य राख्ने मौखिक सहमति तोडेको आरोप पनि लगाएका छन्।
उनले लेखेका छन्, “जब म कुनै कलाकारलाई कथा सुनाउँछु, म उनीप्रति शतप्रतिशत विश्वास गर्छु। हामीबीच एक गोपनीयता सम्झौता हुन्छ। तर तपाईंले यस्तो गरेर आफू वास्तवमै कस्तो व्यक्ति हो भन्ने देखाउनुभयो…”
यता, दीपिकाले भने औपचारिक रूपमा फिल्मबाट बाहिरिएको पुष्टि गरेकी छैनन्। तर, टाइम्स अफ इन्डियाले प्रकाशित गरेको रिपोर्टअनुसार, दीपिकाको स्थानमा अहिले अभिनेत्री तृप्ती डिम्रीलाई अनुबन्ध गरिएको छ।
दीपिकाले केही दृश्यमा असहमति जनाएपछि फिल्म छोडेकी बताइएको छ। फिल्म ‘स्पिरिट’ अब तृप्ती डिम्रीको अभिनयमा अघि बढ्ने तयारीमा रहेको छ।



