जस्टिन बिबरले पत्नी हेली बिबरसँग माफी माग्दै सार्वजनिक रुपमा गरे प्रेमको अभिव्यक्ति

अमेरिकी पप गायक जस्टिन बिबरले पत्नी हेली बिबरसँग सार्वजनिक रुपमा माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत गरिएको माफीसँगै उनले पत्नीप्रति प्रेमको अभिव्यक्तिसमेत गरेका छन्।
बिबरको माफी माग्ने पोस्ट हालै सार्वजनिक भएको २०२५ संस्करणको ‘भोग’ म्यागजिनसँग सम्बन्धित छ, जसको मे २० तारिखको अंकमा हेली बिबरको तस्बिर प्रकाशित भएको छ। यही तस्बिरका सन्दर्भमा विगतमा दिएको एक टिप्पणीका कारण जस्टिन आलोचनाको शिकार बनेका थिए।
सामाजिक सञ्जालमा लेखिएको पोस्टमा जस्टिनले विगतमा हेलीलाई भनेको तीतो कुरा सम्झिए— “कहिल्यै तिम्रो तस्बिर ‘भोग’ म्यागजिनमा आउँदैन।” अहिले हेलीको तस्बिर उक्त प्रतिष्ठित म्यागजिनमा प्रकाशित भएपछि उनले आफ्ना ती भनाइप्रति पछुतो व्यक्त गरेका छन्।
जस्टिनले पोस्टमा लेखेका छन्, “म बुझ्छु, त्यो निकै निर्दयी कुरा थियो। त्यसबेला मैले अपमानजनक टिप्पणी गरेको थिएँ।” साथै, उनले हेलीप्रति आफ्नो प्रेमसमेत व्यक्त गर्दै भनेका छन्, “मैले जीवनमा धेरै मूर्खतापूर्ण कामहरू गरेको छु, तर सबैभन्दा स्मार्ट निर्णय भनेको हेलीसँग विवाह गर्नु हो।”
उनको उक्त पोस्ट फ्यानहरूले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया जनाएका छन्। धेरैले जस्टिनको आत्मस्वीकृति र सार्वजनिक माफीको सराहना गरेका छन्। जस्टिन र हेली बिबर सन् २०१८ देखि वैवाहिक जीवनमा बाँधिएका हुन्।



