गायिका सोनु कक्कड परिवारसँग पुनर्मिलनमा, ‘माया नै उत्तर हो’ भन्दै सार्वजनिक गरिन् तस्बिर

भारतीय गायिका सोनु कक्कडले केही समयअघि सामाजिक सञ्जालमार्फत आफ्ना भाइ टोनी कक्कड र बहिनी नेहा कक्कडसँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी थिइन्। गहिरो भावनात्मक पीडाका कारण यस्तो निर्णय लिएको उल्लेख गरे पनि उनले त्यसको स्पष्ट कारण भने खुलाएकी थिइनन्।



उक्त स्ट्याटस बलिउड र भारतीय मिडियामा ठूलो चर्चा बनेको थियो। यद्यपि, सो स्ट्याटस केही दिनमै हटाइएकी थिइन्। अब भने सोनु कक्कड र उनको परिवारबीचको सम्बन्धमा सुधार आएको देखिएको छ। हालै सामाजिक सञ्जालमा उनले आफ्ना बुबाआमाको वैवाहिक वार्षिकोत्सवमा सहभागी हुँदै भाइ टोनी र बहिनी नेहासँगको तस्बिर सार्वजनिक गरेकी छन्।



उक्त पोस्टमा उनले “माया नै उत्तर हो” भन्ने भावनात्मक सन्देशसमेत समेटेकी छन्। भारतीय मिडिया टाइम्स अफ इन्डिया ले पनि कक्कड परिवारबीच पुनर्मिलन भएको पुष्टि गर्दै समाचार प्रकाशित गरेको छ।



सोनु, नेहा र टोनी तीनै जना संगीत क्षेत्रमा क्रियाशील रहेका कारण पहिलाको सम्बन्ध विच्छेदको घोषणा पछाडि व्यवसायिक दबाब वा पारिवारिक असमझदारीको अनुमान गरिएको थियो। हाल आएर उनीहरूको सम्बन्ध सुध्रिएको संकेतले फ्यानहरूलाई खुशी बनाएको छ।