कला/साहित्य

सहित्य सृजना : बटुवाको पर्खाइमा चौतारीहरू

युवराज सुवेदी

ओ बाटोभरिका पुराना चौतारीहरू,
तिमीहरू अझै उस्तै छौ?
कि समयको आँधीले चिरा पारेको छ तिमीहरूको आत्मा?
अझै पनि छायाँ दिन्छौ ति हिँड्नेहरूलाई,
कि केवल बाँकी छ ओसिलो सम्झनाहरूको थुङ्गा?

तिमीहरू हिजो आज एक्ला छौ भन्छन्,
न बस्छन् तिम्रो छहारीमा बटुवा,
न रोकिन्छन् थाकेका पाइला पलभरलाई,
तिमीहरूको मिठासिलो वायुमा…
के ती पुराना दिनहरू गुमिसके?

एउटा बेला थियो,
तिम्रो मुनि थकाइ मार्थे बटुवाहरू,
तिमीले सुन्दै आयौ कति कथा, कति व्यथा!
बटुवाको ओठमा हुने गीतहरू,
बटुवाको आँखामा हुने सपनाहरू,
सबै बगेर गइसके जस्तो लाग्छ,
आज ती सपना, ती गीति छायाँ मात्र भएका छन्।

हिजो हाम्रा बाजे-बुबा अड्डा जमाउँथे तिम्रो छहारीमा,
आगोको सल्काइमा बस्थे गाउँका बूढापाका,
चिया खान्थे, गफ गर्थे,
कति योजनाहरू बुन्थे चौतारीमै बसेर,
गाउँको दुखेसो पोख्थे,
तर आज?
को छ र यहाँ, जो बसोबास गर्छ तिम्रो हृदयमा?

सडक फराकिलो बन्यो,
गाडी हुइँकिन थाले,
मोबाइलका घण्टीहरू बज्न थाले,
तर तिमी मौन छौ,
सुनसान पर्खाइमा…
बटुवा अब हिँड्दैनन्,
बस्दैनन् तिम्रो छहारीमा,
के तिमीलाई पनि बिर्सिदिए जस्तो लाग्छ?

तर हे चौतारी!
तिमी अझै पनि उस्तै नै छौ,
पर्खाइमा—
कतैबाट कोही बटुवा आउने आशामा।
सायद कुनै थाकेको पाइला,
फेरि तिम्रो छहारीमा थमिएला,
सायद कुनै बटुवा,
फेरि तिम्रै काखमा सपना देख्ला।

— चौतारी कहिल्यै मर्दैन,
यो केवल बटुवाहरूको बाटो हो,
जो बिर्सिएर हिँडेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button