
भेटिएन देशले खोजेको मान्छे यहाँ,
सपना बुन्ने तर पूरा नगर्ने यहाँ।
आश्वासनको भारी बोकेर उभिएको,
सत्यको उज्यालोमा नदेखिने यहाँ।



नयाँ युगको गाथा लेख्ने बताउने,
तर पुरानै डरले भरिएको यहाँ।
सभामा हुंकार गरि गर्जिने,
तर कर्ममा मौन बस्ने यहाँ।



अग्नि जस्तै जोश बोकेर आयो,
तर स्वार्थमा जल्दै गयो यहाँ।
स्वाभिमानका कुरा ठूला गरे,
तर सौदाबाजीमै रम्ने यहाँ।



स्वतन्त्रताको गीत गाउँदै थियो,
तर सत्ताको जञ्जालमा जेलियो यहाँ।
न्यायको पक्षमा उभिने भन्यो,
तर अन्यायमै घुट्ने रहर गर्यो यहाँ।
देश बन्छ, विकास हुन्छ भन्दै,
तर सधैँ भोलि भन्दै टार्ने यहाँ।
कहिले जात, कहिले धर्म देखाएर,
फूटको बिजारोपण गर्ने यहाँ।
जनताको पसीनाले बनाएको सिंहासन,
तर जनताकै वेदनामा हाँस्ने यहाँ।
देशकै माटोमा स्याहार गर्नुपर्ने,
तर विदेशी माटोमा जरा गाड्ने यहाँ।
गुमनाम छैनन् ईमानदारहरू,
तर सुन्न चाहँदैन कोही यहाँ।
देश बदल्ने आँट राख्नेहरू,
तर अवसर पाउन्न कोही यहाँ।
भेटिएला कहिले त्यो सच्चा मन,
जो सपनालाई कर्ममा बदल्ने यहाँ?
भेटिएला कहिले त्यो निडर आत्मा,
जो जनताको सेवामा अडिग रहने यहाँ?
देशले खोजेको मान्छे अझै कतै छ,
शायद, तिमी हौं, शायद, म नै यहाँ।