हास्यकलाकार हरिवंशको ‘ए काउली’ (भिडियोसहित)
हास्यकलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। लोकलयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा उनलाई लोकगायिका शान्तिश्री परियारले साथ दिएकी छन्।



गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन्। गीतको भिडियोमा चेलिबेटी बेचबिखनको सन्देश दिन खोजिएको छ। गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन्।



हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन्। ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटेल तिब्बत गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीवेला एक्कासी काउलीको प्रसंग निस्कियो। मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्यो। त्यसपछि यसले गीतको स्वरूप पाएको हो।’



गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य। ‘बिहे–व्रतबन्धतिर उफ्रिउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरू पनि उफ्रिउफ्री नाच्न सक्नुहुनेछ,’ उनले भने।
यो गीतको श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन्।