कला/साहित्य

सेलिब्रेटीले यसरी मनाउदैछन् तिहार

Thrill Factory
Rungta Group

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । अघिल्लो वर्षको भन्दा यसपालि परिस्थिति अलि सहज भएकाले जनमानसमा उत्साह पलाएको छ । आमसर्वसाधारणझँै फिल्म तथा संगीत क्षेत्रका सेलिब्रेटीहरू पनि विशेष तवरले तिहार मनाउने गर्दछन् ।

यसपालीको तिहार कुन सेलिब्रेटीले कसरी मनाउँदैछन् ? उनीहरूको योजना के छन् ?

यसपाली देउसी खेल्न जाने मन छ
भुवन केसी, अभिनेता
यसपालि अलि रौनक छ । चाडपर्व आएजस्तो लागेको छ । तर, पनि सावधानी भने अपनाउनुपर्छ । घरमा देउसीभैलो खेल्न आउनेहरूसँग नाचगान गर्न र उनीहरूले दिएको आशिष लिन बडो आनन्द लाग्छ । मैले आफैँ देउसीभैलो नखेलेको त वर्षाैं भयो । नजिकका साथीहरू मिले भने यसपाली चाहिँ देउसी खेल्न जान मन लागेको छ । हेरौं, माहौल कस्तो बन्छ ।

मेरी एउटी बहिनी छे, ऊसँग टीका लगाउँछु । घरमा सबैजना भेला हुन्छौँ । त्यो निकै रमाइलो पक्ष हो । तिहारपछि ‘पारस’ फिल्मको सुटिङ गर्ने योजना छ । त्यसको तयारी पनि चलिरहेको छ । संसारभरका दाजुभाइ दिदीबहिनीलाई तिहारको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

काठमाडौंमै मेरो भाइटीका
रेखा थापा, अभिनेत्री
यसपाली कोरानाभाइरस संक्रमण घट्दै गएकाले अघिल्लो वर्षको भन्दा जनजीवन सामान्य हुँदै गइरहेको छ । त्यसैले यसपालि तिहार अलि खुलेर मनाउन पाइँदै छ । तर, पनि हामीले सजकता भने अपनाउनै पर्छ । मलाई रंगोली बनाउन आउँदैन । यसपालि लक्ष्मीपूजामा ‘ट्राइ’ गर्छु । मम्मीसँग मिलेर सेल पकाउने, घरमा बत्ती लगाउने, फूलहरू सजाउने गर्छु ।

मलाई देउसीभैलो खेलेको हेर्न बडो आनन्द लाग्छ । सानोमा त खुब खेल्थेँ । अचेल त हेर्न रमाइलो लाग्छ । यसपालिको भाइटीका पनि काठमाडौंमै मनाउँछु । मेरा दुई जना दाइ हुनुहुन्छ, विराटनगरबाट एक जना दाइ टीका लगाउन आउनु हुन्छ । मैले टीका लगाउने गरेका कतिपय दाइभाइहरू बाहिर छन् । त्यसैले यसपालि सबैसँग टीका हुन्न होला ।

विराटनगर जान्छु
दीपाश्री निरौला, निर्देशक
तिहारको झिलिमिली मलाई एकदम मनपर्छ । काग, कुुकुर, लक्ष्मीदेखि लिएर भाइसम्मको पूजा गर्न पाइने पर्व एकदम गजब लाग्छ मलाई । यसपालि भने खुलेरै तिहार मनाउने प्लान छ । त्यसका लागि म मूलघर विराटनगर जादै छु । दाजुभाइलाई टीका लगाएर, मागेर आशीर्वाद लिन्छु । सेल पकाउने, घर झिलिमिली बनाउने, घरमा देउसीभैलो खेल्न आएकाहरूसँग नाच्ने, नचाउने, निकै रमाइलो लाग्छ ।

सानोमा त देउसीभैलो भट्याउन आफैँ हिड्ने गर्थें । रातभरि भैली खेलेर जम्मा भएको पैसा र चामल लिएर घर नजिकै वनभोज खान जान्थ्यौँ । निकै रमाइलो हुन्थ्यो बच्चा बेलाको तिहार । सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई ह्याप्पी तिहार भन्न चाहन्छु ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button