फिल्मबाट टाढिएर कृषि कर्ममा रमाएका यी कलाकार
मुम्बई– बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो फिल्मको व्यस्त समयलाई बिराम लगाउदै कृषि कर्ममा सक्रिय बनेका छन् । जसमा अभिनेता र अभिनेत्री दुवै जोडिएका छन् । धर्मेन्द्रदेखि लिएर अभिनेत्री राखीसम्मका कलाकारको पछिल्लो जीवन कृषिकर्ममै बितिरहेको छ ।
गीतकार गुलजारकी पूर्व पत्नी र दिग्गज अभिनेत्री राखीले फिल्म क्षेत्रबाट सन्यास लिइसकेकी छन् । हालका दिनमा उनी पनवेल फार्म हाउसमा बसेर खेतीपाती गरिरहेकी छन् । उनको जनावरसँग निकै प्रेम छ र फार्म हाउसमा आफूले पालेका जनावरलाई स्याहार्न व्यस्त छिन् ।
अभिनेता धर्मेन्द्रको प्रकृति प्रेमबारे जोकोही जानकार छन् । उनी आफ्नो इन्स्टा एकाउण्टमा लोनावालास्थित फार्म हाउसको भिडियो शेयर गरिरहन्छन् । उनी फिल्मी दुनियाँबाट टाढिएर पूर्ण रुपमा अग्र्यानिक खेती र जनावर पाल्ने काममा व्यस्त छन् । उनको फार्म हाउसमा सयौं गाई छन् । उनी घरेलु तरकारी उब्जाएर खान्छन् ।
फिल्म उद्योगमा इण्डीपप गीतका लागि प्रख्यात गायक लकी अली छोटो समयमा नै सांगीतिक क्षेत्रमा लोकप्रिय भए । गीतसंगीतबाट अलग्गिए पनि उनको गीत अहिले पनि नसुन्ने श्रोता कमै होलान् । लकी हालका दिनमा अग्र्यानिक खेती गरिरहेका छन् । उनी सामाजिक सञ्जालमा आफ्नो फार्म हाउसको भिडियो पोस्ट गरिरहन्छन् ।
एकता बलिउडमा स्थापित अभिनेत्री जुही चावला लामो समयदेखि बलिउडमा टाढिएकी छन् । उनी पछिल्लो कैयौं वर्षदेखि खेतीपातीमा सक्रिय छिन् । उनको प्राथमिकता अग्र्यानिक उत्पादनमा जोड दिने रहेको छ । जूही महाराष्ट्रको वाडास्थित आफ्नो फार्म हाउसमा व्यस्त छिन् । उनले पिताको निधन पछि यो फार्महाउसमा खेती गर्ने निर्णय लिएकी थिइन् ।
बलिउडकी ‘डिम्पल गर्ल’ प्रीति जिन्टाले पनि फिल्मसँग सम्बन्ध टुटाएको धेरै भइसक्यो । उनी दुई वर्षयता कृषि फार्ममा सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा आफ्नो खेतीसँग जोडिएका हरेक विषयलाई भिडियोका रुपमा पोष्ट गरिरहन्छिन् ।
अभिनेता आर माधवन भलै फिल्मबाट टाढिएका छैनन्, तर उनी खेतीपातीमा निकै सक्रिय छन् । उनले केही वर्ष अघि जग्गा किनेर नरिवलको विरुवा लगाएका छन् । उनी अन्य फसलहरु अग्र्यानिक किसिमले उत्पादन गरिरहेका छन् ।
अभिनेता नवाजुद्दीन सिद्दीकीको कृषिमा विशेष लगाव छ । उनी कृषि कर्मलाई आफ्नो दोस्रो कर्मभूमि मान्छन् । उनी फिल्मको काम सकाउनासाथ आफ्नो गाउँ मुजप्फरनगर पुग्छन् र खेतीपातीमा रमाउछन्