‘कमेडी दरबार’को प्रसारण जेनजी आन्दोलनका कारण स्थगित

देशभर जेनजी आन्दोलनले उत्पन्न गरेको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ अस्थायी रूपमा स्थगित गरिएको छ। कार्यक्रमका सञ्चालक तथा निर्देशक बिक्की अग्रवालले शुक्रबार एक सूचना जारी गर्दै यो निर्णयको जानकारी दिएका हुन्।
अग्रवालले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “देशको वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राखी, भ्रष्टाचारविरुद्ध आफ्नो जीवन बलिदान गर्ने वीर योद्धाहरूको श्रद्धाञ्जलीस्वरूप देशको अवस्था सामान्य नहुन्जेल नयाँ एपिसोड प्रसारण नगर्ने निर्णय गरिएको छ।”
सोमबार र मंगलबार जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै आन्दोलनलाई हिंसात्मक बनाएका थिए। प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भएपछि मुलुकभर नेपाली सेनाले सुरक्षा व्यवस्थापन गरिरहेको छ।
यो आन्दोलनको प्रभावस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलन सफल भएपछि जेनजी समूह हाल नेतृत्व चयनको प्रक्रियामा छ। उनीहरूले नयाँ सरकार गठनका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको उमेदवारका रूपमा अघि सारेका छन्।
कार्की हाल राष्ट्रपति रामचन्द्र पौडेलसहित शीर्ष नेतासँग सरकार गठनबारे संवादमा रहेको स्रोतको दाबी छ।



