पाँचौँ टेस्टमा इंग्ल्यान्ड जितको नजिक, भारतलाई चार विकेटको आवश्यकता

ओभलमा जारी भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्ड जितको नजिक पुगेको छ। अन्तिम दिनको खेल सुरु हुन बाँकी रहँदा घरेलु टोलीलाई जीतका लागि केवल ३५ रन आवश्यक छ, भने भारतले जितका लागि इंग्ल्यान्डका बाँकी चार विकेट चाँडो लिनुपर्ने चुनौती छ।
३७४ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्डले चौथो दिनको खेल सकिँदासम्म ६ विकेट गुमाएर ३३९ रन जोडेको छ। अहिले क्रिजमा जेमी ओभरटन शून्य तथा जेमी स्मिथ दुई रनमा अविजित छन्।
इंग्ल्यान्डको इनिङ्सलाई जोए रुट र हेरी ब्रुकले मजबुत बनाएका थिए। रुटले १०५ रन बनाउँदै आफ्नो टेस्ट करिअरको ३९औँ शतक पूरा गरे भने ब्रुकले आक्रामक ब्याटिङ गर्दै ९१ बलमै शतक पूरा गरे।
भारतका प्रसिद्ध कृष्णले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका छन्। अब खेलको अन्तिम दिन सस्पेन्स बाँकी छ—इंग्ल्यान्ड सहज जित तर्फ बढ्दै छ, तर भारतका बलरहरूले पुनः खेलमा फर्किने प्रयास गरिरहेका छन्।


