कला/साहित्य

‘मेरी बास्सै’का कलाकारहरू निर्देशनमा होमिँदै, बल्छी र तक्मे बूढाको फिल्म निर्देशन यात्रा सुरू

सामाजिक सञ्जाल र इन्टरनेटको पहुँच विस्तारसँगै टेलिभिजनको आकर्षण घट्दै जाँदा लोकप्रिय हाँस्य टेलिसिरियलका कलाकारहरू ठूलो पर्दातर्फ लागेका छन्। ‘तितो सत्य’का दीपकराज गिरी र दीपाश्री निरौला, ‘मेरी बास्सै’का केदार घिमिरे ‘माग्ने बूढा’ र सिताराम कट्टेल ‘धुर्मुस’, तथा ‘जिरे खुर्सानी’का जितु नेपाल ‘मुन्द्रे’ अहिले फिल्म क्षेत्रमा सक्रिय छन्।

यी चर्चित टेलिसिरियलहरूमा देखिएका धेरै कलाकारहरू अहिले फिल्ममा अभिनय र निर्माणमा व्यस्त छन्। ‘जिरे खुर्सानी’ र ‘तितो सत्य’ बन्द भइसकेका छन् भने ‘मेरी बास्सै’लाई नयाँ टिमले केही पुराना अनुहारसहित निरन्तरता दिइरहेको छ।

अब भने ‘मेरी बास्सै’बाट चर्चामा आएका दोस्रो पुस्ताका कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ फिल्म निर्देशनमा होमिएका छन्।

विल्सनविक्रमले २०८० सालमै निर्देशनमा हात हाल्ने घोषणा गरे पनि उनले घोषणा गरेका दुई फिल्म ‘सिलाम साक्मा’ र ‘लाहुरे एन्ड दाउरे’ बन्न सकेनन्। तर अब उनले ‘मैझारो’ नामक फिल्ममार्फत निर्देशन डेब्यू गर्ने पक्का भएको छ। पाँचथरमा साउन १ गतेदेखि छायाङ्कन सुरु भएको यो फिल्ममा धिरज मगर, मिरुना मगर र दिया पुन शीर्ष भूमिकामा छन्।

त्यस्तै, बल्छी धुर्बे ‘गोबर गणेश’ नामक फिल्म निर्देशनमा जुटेका छन्। यस फिल्मको कलाकार चयनको काम भइरहेको छ। हालसम्म वर्षा सिवाकोटी, पदम तामाङ, पुजन घिमिरे र सीतादेवी तिमल्सेना फाइनल भएका छन्। फिल्मको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुने र माघ १ गते प्रदर्शन हुने तय गरिएको छ।

एकै टेलिसिरियलबाट लोकप्रियता कमाएका बल्छी र तक्मे बूढा अब निर्देशन यात्रा कस्तो रहनेछ भन्ने चासो फिल्म क्षेत्रले राखेको छ। उनीहरूको निर्देशनमा तयार हुने फिल्मले दर्शकको कति मन जित्न सक्छ भन्ने कुराको प्रतिक्षा अब दर्शकलाई रहनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button