खेल संसार

२०२६ विश्वकप छनोट रोमाञ्चक मोडमा, अर्जेन्टिना र जापानले पक्कापक्की गरे

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजना हुने विश्वकप फुटबलका लागि जारी छनोट चरण रोमाञ्चक मोडमा पुगेको छ। विश्वकपमा ४८ टोली सहभागी हुने नयाँ प्रारूपअनुसार हाल विश्वभर छनोटका खेल तीव्र गतिमा चलिरहेका छन्। केही टोलीले छनोट सुनिश्चित गरिसकेका छन् भने अन्य टोलीका लागि प्रतिस्पर्धा झनै कडा बन्दै गएको छ।

दक्षिण अमेरिका : अर्जेन्टिना, ब्राजिल र इक्वेडर विश्वकपमा

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना, ब्राजिल र इक्वेडरले विश्वकपको टिकट कटाइसकेका छन्। डबल राउन्ड रोबिन आधारमा चलिरहेको छनोटमा हरेक टोलीले १८ खेल खेल्ने तालिकाअनुसार हालसम्म १६ खेल सम्पन्न भएका छन्। अर्जेन्टिना ३५ अंकसहित शीर्ष स्थानमा छ भने इक्वेडर २५ अंकसहित दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।

उरुग्वे र पाराग्वे २४–२४ अंकसहित विश्वकप नजिक छन्, जहाँ अन्तिम दुई खेलमा एक–एक अंक प्राप्त भएमा उनीहरूको स्थान सुरक्षित हुनेछ। शीर्ष ६ टोलीले विश्वकपमा सिधा प्रवेश गर्नेछन् भने सातौँ स्थानको टोलीले प्ले अफ खेल्नेछ। हाल कोलम्बिया २२ अंकसहित छैटौँ स्थानमा छ।

युरोप : समूह चरण सुरु, १६ टोली जाने

युरोपेली छनोटमा १२ समूह बनाइएको छ। प्रत्येक समूहका विजेता सिधै विश्वकपमा प्रवेश गर्ने छन् भने दोस्रो हुने १२ टोली र युरोपियन नेसन्स लिगबाट थप चार टोलीले प्ले अफ खेल्नेछन्, जसबाट चार टोली छनोट हुनेछन्।

केही समूहमा खेल सुरु भइसकेका छन्, जसमध्ये समूह ‘जी’मा फिनल्यान्ड शीर्ष स्थानमा छ। समूह ‘एच’मा बोस्नियाले लगातार तीन जितसहित ९ अंक जोडेको छ। अन्य समूहहरूमा खेल सुरु हुने क्रममै छन्, जहाँ बेल्जियम, इङ्ल्यान्ड, पोर्चुगल, जर्मनीजस्ता बलिया टोलीहरू छनोट चरण पार गर्न संघर्षरत देखिन्छन्।

एसिया : जापानसहित ६ टोली विश्वकपमा

एसियाली छनोटको तेस्रो चरणमा १८ टोली सहभागी थिए, जसबाट जापान, कोरिया, इरान, जोर्डन, अस्ट्रेलिया र उज्बेकिस्तानले विश्वकपमा स्थान बनाइसकेका छन्। बाँकी रहेका ६ टोलीमध्ये दुई टोली थप सिधै छनोट हुने छन् भने एक टोली ग्लोबल प्ले अफमा पुग्नेछ।

तेस्रो चरणमा तेस्रो र चौथो स्थानमा परेका संयुक्त अरब इमिरेट्स, कतार, इराक, साउदी अरेबिया, ओमान र इन्डोनेसियाले चौथो चरणमा प्रतिस्पर्धा गर्दै छन्। यस चरणमा समूह विजेता दुई टोली सिधै विश्वकप पुग्नेछन् भने उपविजेताबीच अन्तिम खेल हुनेछ, जसको विजेता ग्लोबल प्ले अफमा पुग्नेछ।

अफ्रिका : ९ सिधा प्रवेश, एक ग्लोबल प्ले अफमा

अफ्रिकाबाट ९ टोली सिधै विश्वकप प्रवेश पाउने छन् भने उत्कृष्ट उपविजेतामध्ये एक टोली ग्लोबल प्ले अफ खेल्नेछ। हालसम्म डबल राउन्ड रोबिन प्रारूपमा हरेक समूहमा ६ खेल भइसकेका छन्।

इजिप्ट, मोरक्को, ट्युनेसिया, घाना, आइभोरी कोस्ट, अल्जेरिया, र दक्षिण अफ्रिका शीर्ष स्थानमा छन्। समूह ‘एफ’ मा आइभोरी कोस्टले १६ अंक जोडेको छ भने समूह ‘एच’ मा ट्युनेसियाले १६ अंक बटुलेको छ। चार खेल बाँकी रहँदा प्रतिस्पर्धा अझै खुला छ।

उत्तर तथा मध्य अमेरिका : आयोजक बाहेकको कडा प्रतिस्पर्धा

संयुक्त आयोजक अमेरिका, क्यानडा र मेक्सिको सिधै छनोट भइसकेका छन्। बाँकी स्थानका लागि पाँच टोली सहभागी रहने ६ समूह बनाएर छनोट चरण गरिएको छ। समूह शीर्ष दुई टोली अर्को चरणमा प्रवेश गरेका छन्।

होन्डुरस, कोस्टारिका, पनामा, ग्वाटेमाला, ट्रिनिडाड एन्ड टोबागो, कुराकाओ, हायटी, साल्भाडोर, निकारागुवा, सुरिनाम, बर्मुडा र जिम्बाबे अर्को चरणमा प्रवेश गरिसकेका छन्। तीन समूह बनाइने यस चरणमा शीर्ष स्थान पाउने तीन टोली विश्वकप पुग्नेछन् भने एक उत्कृष्ट उपविजेता ग्लोबल प्ले अफ खेल्नेछ।

ओसियान : न्युजिल्यान्ड सिधा छनोट

ओसियान क्षेत्रबाट न्युजिल्यान्डले सिधै विश्वकपको टिकट पाइसकेको छ भने न्यु कालेडोनिया ग्लोबल प्ले अफ चरणमा प्रतिस्पर्धा गर्नेछ।

विश्वभर छरिएका छनोटका यी खेलहरूले सन् २०२६ को विश्वकपको स्वरूप झनै रोचक र खुला बनाइदिएको छ। बलिया टोलीहरूको अप्रत्याशित प्रदर्शन, नयाँ देशहरूको उदय र विश्व फुटबलको भूराजनीतिक समिकरणले आगामी महाकुम्भ रोमाञ्चक हुने संकेत देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button