केपी ओलीदेखि प्रचण्डसम्म : नेताहरूको अभिव्यक्ति किन बन्छ ट्रोल ?

आफ्ना विवादास्पद अभिव्यक्तिका कारण बारम्बार सामाजिक सञ्जालमा ट्रोल बन्ने नेताहरूको सूचीमा प्रधानमन्त्री केपी शर्मा ओली अग्रपंक्तिमा पर्छन्। सामाजिक सञ्जालमा सक्रिय देखिने ओली पछिल्लो समय दुई प्रकरणका कारण फेरि ट्रोलको सिकार बनेका छन्।
पहिलो प्रकरणमा उनी अढाई वर्षअघिको आफ्नै भनाइसँग बाझिने अभिव्यक्तिका कारण आलोचित बने। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पुराना र नयाँ अभिव्यक्तिको भिडिओ जोडेका क्लिप सार्वजनिक गर्दै ओलीलाई व्यङ्ग्य गरे।
२०७९ पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा राप्रपाको चियापान कार्यक्रममा सहभागी भएका ओलीले पृथ्वीनारायण शाहको योगदानको प्रशंसा गरेका थिए। उनले भनेका थिए, “जुन अगुवाइ गर्नुभयो, नेतृत्व गर्नुभयो र देश एकीकरण भयो, नेपाल भयो, हामी नेपाली भयौँ। त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले बिदा दियो।”
तर हालै २०८२ जेठ १७ गते नेपाल बुद्धिजीवी परिषद्को अधिवेशनमा उनले पृथ्वीनारायण शाहप्रति आलोचनात्मक टिप्पणी गरे। “पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए? आफूबाहेक अरूलाई त मास्ने कुरा गर्थे त,” ओलीले भनेका थिए। अभिव्यक्तिका यो विरोधाभासले उनी ट्रोलको केन्द्र बने।
ओली ट्रोलमा परेका अर्को प्रसङ्ग ‘झोले’ शब्दसँग जोडिएको छ। उनले सामाजिक सञ्जालमा “म झोले हो” लेखिएको तस्बिर सेयर गर्दै “सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ” भने। त्यसपछि उनका समर्थकहरूले झोलेको समर्थनमा अभियान चलाए। तर धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘म झोले होइन’ भन्ने अभियान चलाउँदै उक्त प्रयासको व्यङ्ग्य गरे।
यसअघि पनि ओलीले घरघरमा पाइपबाट ग्यास पुर्याउने योजना, पानीजहाजको टिकट बिक्री मिति घोषणा, बाघसम्बन्धी टिप्पणीजस्ता अभिव्यक्तिका कारण ट्रोलमा परेका थिए।
ओली मात्र होइन, अभिव्यक्तिका कारण ट्रोलमा पर्ने नेताहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि परेका छन्। असार २०८० मा “२०८४ सम्म सरकारमा जाने छैन” भनेका प्रचण्डले केही महिनामै नयाँ सरकारको संकेत दिएका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई पुरानो अभिव्यक्ति सम्झाउँदै ट्रोल गरे।
कांग्रेस सभापति शेरबहादुर देउवा भने कम बोल्ने भएकाले कम ट्रोलमा पर्ने नेतामा गनिन्छन्। तर उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू राणा भने अभिव्यक्तिका कारण समय–समयमा ट्रोलमा परिरहेकी छन्। हालै विदेशमा सम्मान र नेपालमा निराशा व्यक्त गर्ने अभिव्यक्तिका कारण उनी आलोचित भइन्। विगतमा चुनावी वाचाहरू र किसानको छोरी भएको दाबीसमेत ट्रोलको विषय बनेका थिए।
राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि ट्रोलको सिकार बनेका छन्। केही वर्षअघि “राजसंस्थाको पुनर्स्थापनाको सम्भावना सकियो” भन्ने पोस्ट गरेका थापा राजसंस्था समर्थक प्रदर्शनमा सहभागी हुँदा पक्राउ परेपछि त्यही पोस्ट भाइरल बन्यो।
कांग्रेस महामन्त्री गगन थापाले उपनिर्वाचनका बेला कीर्तिपुरका युवाहरूले डाँडामै बसेर चार लाख रुपैयाँ कमाउन सकिने दाबी गर्दा पनि ट्रोलमा परे। राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार यस्तो भनाइ असम्भव नभए पनि बेरोजगारीका कारण निराश युवाहरूले व्यङ्ग्यको रूपमा लिएका हुन्।
त्रिभुवन विश्वविद्यालयका मनोविज्ञानी डा. शिशिर सुब्बा नेताहरू ट्रोलमा पर्ने प्रवृत्तिलाई ‘क्यान्सल कल्चर’ सँग जोडेर हेर्छन्। उनका अनुसार असंगत अभिव्यक्तिबाट नेताहरू आफैँ कमजोर देखिन्छन्, जसलाई सामाजिक सञ्जालले झनै उजागर गर्छ।
राजनीतिशास्त्री पोखरेल भन्छन्, “नेताहरू बदलिँदो समय र युवाको आकांक्षाअनुसार सान्दर्भिक हुन नसक्दा ट्रोलको सिकार हुन्छन्।” उनका अनुसार अहिलेका नेताहरू बोल्न नपर्ने विषयमा विज्ञ बन्ने प्रयास गर्दा आफैँ हाँसोको पात्र बन्छन्। ओलीबारे पोखरेल भन्छन्, “उनी जे मा पनि जान्ने बन्ने, जे मा पनि बोल्ने प्रवृत्तिले हिजो के भनेको र आज के भनिएको बीच तारतम्य नमिल्दा आफैँ ट्रोल बन्छन्।”
यसरी ट्रोल संस्कृति नेपाली राजनीतिमा आलोचना, व्यङ्ग्य र असन्तोषको अभिव्यक्तिको माध्यम बन्दै गएको देखिन्छ।



