खेल संसार

टी-२० क्रिकेट : जनकपुरद्वारा लुम्बिनी पराजित

Thrill Factory
Rungta Group

पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् ।

लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा र जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए । जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । त्यस्तै सुनिल धमलाले २७ रन जोडे भने गुलशन झाले अविजित १० रन बनाए । 

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले तीन विकेट लिए भने समिउल्लाह शिनवारीले दुई विकेट झारे । त्यसअघि पहिले टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा छ विकेट गुमाएर एक सय ५९ रन बनायो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रनको योगदान दिए । 

त्यस्तै शरफुदिन असरफले ३४ रन बनाए भने खडक बोहोराले २२ तथा शमिउल्लाह शिनवारीले २० रन बनाए । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई-दुई विकेट लिए भने प्याट ब्राउन र इशान पाण्डेले समान एक-एक विकेट लिए ।

दश खेल खेलेको लुम्बिनीले आठमा जित तथा दुई  खेलमा हार बेहोरेको छ । लुम्बिनी १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १० खेलमा सात जित र तीन हारसहित जनकपुर १४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रह्यो ।

अब फाइनलमा पुग्न लुम्बिनी र जनकपुरले आइतबार हुने पहिलो क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले ३० लाख प्राप्त गर्नेछन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button