खबर फटाफटदेश

आगलागीमा परी सातामा ७ जनाको ज्यान गयो

Thrill Factory
Rungta Group

च्याउ टिप्न गएका तीन बालकको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको आगलागीमा परी मृत्यु भएको छ । गत बिहीबार लागेको आगलागीमा परी शुक्रबार १० वर्षीय सुलस बुढाको डोल्पा जिल्ला सदरमुकाममा मृत्यु भएको थियो भने दुई जना १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार दिउँसो काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो ।

एकै गाउँका ३ बालकको मृत्यु भएपछि पूरै गाउँ नै शोकमा डुबेको स्थानीय शिक्षक कमल बुढाले बताए । उनका अनुसार विद्यालय बिदाको मौका पारी उनीहरू च्याउ टिप्न गाउँ नजिकैको सामुदायिक वनमा गएका थिए । ‘गुच्ची च्याउ टिप्न गएका बेला वनमा आगो लागेको देखेपछि उनीहरूले आगो निभाउन खोज्दा घाइते भएछन्,’ उनले भने ।

त्यसैगरी डोल्पाकै ठूलीभेरी नगरपालिका–४ स्थित मष्टाभवानी सामुदायिक वनमा पनि गत सोमबार डढेलो लागेको थियो । उक्त डढेलो नियन्त्रणमा लिने क्रममा देवीदत्त गुल्मका ४ जना सैनिक घाइते भएका थिए । उनीहरूमध्ये काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर जर्घा मगर र हुम्लाका २३ वर्षीय सिपाही आशिष बुढाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने सोमबार नै जुम्लाका २४ वर्षीय सिपाही हेमन्त रावतको पनि डोल्पा अस्पतालमा ज्यान गएको थियो ।

सुरक्षाकर्मीहरूसँग अग्नि नियन्त्रणका लागि पर्याप्त उपकरण नहुनु र तीव्र गतिमा चलेको हावाका कारण बढी क्षति हुन पुगेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । ‘दुवै घटनाका घाइतेलाई बचाउन ठूलो कोसिस गर्‍यौं । तर समयमै उपचार हुन नसक्दा दुःखद् घटना भयो,’ दाहालका अनुसार अहिले भने दुवै ठाउँको आगो नियन्त्रणमा आइसकेको छ ।

बुधबार राति पनि आगलागीका कारण हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउका ५५ वर्षीय हर्के ऐडीले ज्यान गुमाएका छन् । गाउँभन्दा झन्डै अढाई घण्टा पैदल दूरीको कुरिल्ला लेकको भेडीगोठमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । राति सुत्दा ननिभाइएको आगो फैलिएर गोठमा रहेका ६० वटा भेडासमेत मरेका थिए ।

कर्णालीमा एक साताको अवधिमा आगलागीमा परी ७ जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अहिले विभिन्न जिल्लाका झन्डै १३ वटा सामुदायिक वनमा आगलागी भइरहेको छ । एक सातामा १७ वटा घरगोठ आगलागीबाट नष्ट भएका छन् । आगलागीको मुख्य कारण नै असावधानी भएको रुकुम पश्चिमस्थित वन डिभिजन कार्यालयका प्रमुख शेरबहादुर परियारले बताए ।

‘आगोजन्य वस्तु असावधानीवश वन क्षेत्रमा छोडिँदा पनि ठूलो समस्या देखियो, केही ठाउँमा त उपभोक्ताले नै घाँस राम्रो पलाउने लोभमा वनमा आगो लगाएको पनि पाइयो,’ उनले थपे, ‘सचेतना र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु नै यसको निराकरणको उपाय हो ।’ वन क्षेत्रमा चुरोट खाएर जथाभाबी फाल्दा, आगो लगाएर स्याउला नष्ट गर्न खोज्दा र वनभोजलगायत प्रयोजनमा बालिएको आगो ननिभाउँदा पनि वन क्षेत्र मासिने गरेको उनको भनाइ छ ।

३ वर्षको अवधिमा कर्णालीमा ४ सय ५१ आगलागीका घटना भएका छन्, जसमा परी ४३ जनाको मृत्यु भएको तथ्यांक छ भने ५१ जना घाइते भएका छन् । आगलागीबाट ५ सय २ घर नष्ट हुँदा सवा ५६ करोड रुपैयाँको क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार यस वर्ष मात्रै १ सय ४३ वटा आगलागीका घटना भएका छन् । जसमा परी १७ जनाले ज्यान गुमाइसकेका छन् भने ११ जना घाइते भएका छन् । झन्डै १२ करोडको क्षति भएको प्रदेश प्रहरी कार्यालयको आँकडा छ ।

पहाडी क्षेत्रका अधिकांश घर कच्ची र फुसको छानाका भएकाले आगो छिटो फैलिने समस्या रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले बताए । ‘घरमा हुने आगलागी धेरैजसो असावधानीका कारण हुने गरेको छ,’ उनले भने, ‘टुकी ननिभाई सुत्दा, भान्साको आगो ननिभाउँदा र विद्युत् सर्ट हुँदा पनि आगजनी हुने गरेको छ ।’

कर्णालीका हिमाली जिल्लामा अधिकांश घर काठका हुने र कोठाको उचाइ कम हुँदा पनि आगोले छिटो टिप्ने र फैलने गरेको उनले बताए । आचार्यले अधिकांश स्थानीय तहमा बारुणयन्त्र नहुँदा, भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुँदा, आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button