एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी

एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रवार मलेशियालाई पराजित गर्दै नेपाली राष्ट्रिय टोलीले वर्ष २०८० को बिदाइ गरेको थियो। शनिवार कतारलाई ३२ रनले पराजित गर्दै टोलीले २०८१ साल नयाँ वर्षको सुखद् सुरुआत गरेको छ।



दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा बनाएको ६ छक्काको कीर्तिमान्बाट प्रेरित बनेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरको खेलमा ७ विकेट गुमाएर २१० रन जोडेको थियो।



जवाफमा कतारका ब्याटरहरू ९ विकेटको क्षतिमा १७८ रनमा सीमित हुन पुगे। जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको नेपाल एसीसी प्रिमियर कपको ुडिफेन्डिङ च्याम्पिअनु टोली हो।



यसवर्ष पनि उपाधि जोगाउँदै नेपाल एशिया कपमा छनोट हुने योजनामा छ। एसीसी प्रिमियर कपको विजेता टोली एशिया कपमा छनोट हुनेछ।
नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ओमानमा जारी ुएसीसी प्रिमियर कपु क्रिकेटको शनिवारको खेलमा अर्को नयाँ कीर्तिमान् बनाएका छन्। कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्नुलाई क्रिकेटमा दुर्लभ मानिन्छ।
तर शनिवार कतारविरुद्धको खेलमा ऐरीले दुर्लभ मानिने सोही कुरा गरे। यो सँगै उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एकै ओभरमा ६ छक्का बनाउने खेलाडीको सूची निकै छोटो छ। योसँगै ऐरी टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए।