स्वास्थ्य/जिवनशैली

रेबिजले ज्यान गुमाउनेमा ४० प्रतिशत बालबालिका, यस्ता छन् लक्षण

Thrill Factory
Rungta Group

ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोल अध्ययनका अनुसार प्रतिवर्ष विश्वमा ५९ हजार मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ । त्यीमध्ये ४० प्रतिशत बालबालिका हुने गर्छन् ।

उक्त संस्थाका अनुसार विशेषगरी अफ्रिका र एशियाका स्वास्थ्य तथा भेटरिनरी सेवा नपुगेका ग्रामीण क्षेत्रमा धेरैलाई रेबिज लाग्ने गरेको छ । रेबिजका कारण लाखौँ कुकुर र अन्य जनावरको मृत्यु हुने गर्छ । रेबिजको डरले कैयौँ जनावरहरूलाई मारिने गरेको विवरण पनि पाइन्छ ।

धेरैजसो विकसित देशहरूले घरपालुवा कुकुरमा रेबिज उन्मूलन नै गरिसकेका छन् । तर नेपालजस्ता विकासोन्मुख देशहरूमा अझै पनि कुकुरमा रेबिज उन्मूलन नहुँदा त्यसबाट मानवमा सर्ने र मृत्यु हुने क्रम जारी रहेको विज्ञले बताएका छन् ।

सन् २०१५ मा रेबिजको कारणले विश्वभरि १७,४०० मानव मृत्यु भएको थियो । रेबिजबाट हुने मानव मृत्युको ९५५ अफ्रिका र एसियाबाट रहेका छन् ।

यो रोग लागेका लगभग ४०५ बालबच्चाहरू १५ वर्ष मुनिका उमेरका रहेका छन् । रेबिज १५० भन्दा बढी देशहरूमा र अन्टार्कटिका बाहेक सबै महादेशमा देखा परेको छ । रेबिज देखा परेको क्षेत्रमा विश्वको ३ अर्ब भन्दा अधिक मानिसहरू बसोबास गर्छन् ।

अस्ट्रेलिया र जापानसहित पश्चिम युरोपमा धेरै देशहरूमा कुकुरमा रेबिज देखिएको छैन । धेरै प्रशान्त टापुहरूमा रेबिज छैन । स्तनधारी वर्गका यी जनावर, जसलाई लाईसा नामक भाइरसको सङ्क्रमण छ ।

त्यस्ता जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको सङ्क्रमण हुन्छ । मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ ।

यो कुरा कुन जनावरले टोकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ ।

गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ । स्तनधारी प्राणी र चराहरूले आफ्नो शरीरको तापक्रमलाई बाह्य वातावरण अनुसार सँधै सन्तुलनमा राख्ने भएकोले भाइरसलाई अनुकुल अवस्था उत्पन्न हुन्छ ।

तर सर्प, माछा जस्ता जीवहरूमा यो क्षमता नहुने भएकोले उनीहरूमा लाईसा भाइरसको असर रहदैन ।  त्यस्ता जीवहरू यो रोगबाट मुक्त हुन्छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरूसँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ ।

रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ । रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ ।

रेबिजका मुख्य लक्षण
रोग लागेको जनावरहरूमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो । धेरै चनाखो हुने, छट्पटीने, विना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढी रहने, आँखा राता देखिने र अरु स्वास्थ पशु भन्दा भिन्नै लक्षणहरु देखाउने रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिँड्दछ ।

यस्तो कुकुरलाई अरु कुकुरहरूले देखेमा भुक्छन् । रोगी कुकुर पनि भुक्न खोज्छ । तर सास सुकेको हुन्छ । भुक्दा सास आँउदैन । रेबिज रोग लागेको कुकुरले मुखबाट र्‍याल फाल्दै हिँडेको देखिन्छ ।

रेबिज रोग लागेको मान्छे पानीबाट डराउँछ । रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ। लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् ।

रेबिजको पहिलो अवस्था, टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

दोस्रो अवस्था, चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने । जोसँग र जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तिर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था, र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ ।

रेबिज रोगको असर दिमागमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुन सक्छ । अर्का सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाका अनुसार रेबिज रोग लागेको कुकुर, रोग देखा परेको १४ दिन भित्र मर्छ ।

रेबिजको लक्षण देखिएपछि व्यक्ति तीनदेखि १० दिनभित्रमा शत प्रतिशत मर्दछन् । उनका अनुसार विश्वमा अहिलेसम्म रेबिज लागेकामध्ये एक जनामात्र बाँचेको पाइएको छ ।

रेबिजबाट बच्नका लागि कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

त्यसो गर्दा ‘इन्क्यूबेशन’ कालमै भाइरस नष्ट हुने र रेबिज लाग्ने सम्भावना न्यून हुन्छ । पशुमा वा मानिसमा एक पटक रेबिज सङ्क्रमण भइसकेपछि चाहिँ त्यसको उपचार सम्भव नभएको डाक्टर पुनले बताए ।

रेबिजबाट बच्नका लागि कुनै पनि जनावरले टोकेपछि एन्टिरेबिज भ्याक्सिन दिनुपर्ने उनी बताउँछन् । ‘त्यस्तो खोप सकेसम्म टोकेको दिन, तेस्रो दिन र सातौँ दिन लगाउनुपर्छ, त्यसका अतिरिक्त घाउको प्रकृति हेरेर ’इम्यूनोग्लोब्युलिन’ पनि दिनुपर्ने हुन्छ,’ उनले भनेका छन् । घाउमा लगाइने उक्त खोपको भने एक मात्रा मात्र दिँदा पुग्छ ।

मानिसमा लगाउने रेबिजविरुद्धको खोप पहिले नेपालमै उत्पादन हुने गरेकोमा नयाँ प्रविधिको खोप आएपछि सन् २००६ देखि त्यसको उत्पादन बन्द भएको छ । तर कुकुरमा लगाइने रेबिजको खोप अहिले पनि उत्पादन भइरहेको छ ।

राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. माधव दाहालका अनुसार हाल नेपालमा सरकारी स्तरबाट वार्षिक एक लाख साठी हजार मात्रा त्यस्तो खोप उत्पादन भइरहेको छ ।

तर अहिले यसलाई निःशुल्क अभियान चलाएर लगाइएको छैन, घरपालुवा कुकुर हुनेले बजारमा उपलब्ध गराएको खोप किनेर लगाउनुपर्ने अवस्था छ । विभिन्न गैरसरकारी संस्थाहरूले स्थानीय सरकारसँग मिलेर सामुदायिक कुकुरहरूलाई रेबिजविरुद्ध खोप अभियान चलाउने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button