न्युजिल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई
पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ ।
लगातार दुई खेलमा न्युजिल्याण्डलाई हराएको भारतले सरिज नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति सम्पन्न दोस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । राहुलले ६५ तथा शर्माले ५५ रन बनाए ।
यस्तै भेन्कातेस आयरले अविजित १२ रन जोड्दा ऋषव पन्तले अविजित १२ रन बनाए । सूर्यकुमार यादव १ रनमा आउट भए । न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।
न्युजिल्याण्डका ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गुप्टिल र मिचेलले समान ३१/३१ रन जोडे । मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए ।
भारतका हर्सल पटेलले दुई विकेट लिए । भुवनेश्वर कुमार,रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १/१ विकेट लिए ।
जितसँगै तीन खेलको सिरिजमा भारतले २-० को अग्रतासमेत बनाएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।