खेल संसार

सलाह र फिर्मिनो चम्कदा लिभरपुलको सानदार जित

इजिप्टका मोहम्मद सलाह र ब्राजिली रोबर्टाे फिर्मिनो चम्कदा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ ।

लिभरपुलले घरेलु टोली एफसी पोर्टाेलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा सलाह र फिर्मिनोले समान दुई गोल गर्दा साडियो मानेले एक गोल थपे । घरेलु टोलीका मेहेदी तारेमीले एक गोल फर्काए ।

पोर्टाेमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको १८औं मिनेटमा मोहम्मद सलाहको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा साडियो मानेले जेम्स मिल्नरको पासमा गोल गर्दै लिभरपुललाई २–० ले अघि बढाए ।

६०औं मिनेटमा सलाहले कर्टिन जोन्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल सहज जिततर्फ अघि बढ्यो । ७५औं मिनेटमा मेहेदी तेरेमीले फावियो भिइराको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

त्यसपछि सब्सिच्युट रोबर्टाे फिर्मिनाले दुई गोल गर्दै लिभरपुलको जित पक्का गरे । ६६औं मिनेटमा सलाहको स्थानमा मैदान छिरेका फिर्मिनोले ७७औं मिनेटमा कर्टिस जोन्सको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए ।

८१औं मिनेटमा फिर्मिनो व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितपछि लिभरपुल २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोर्टाे १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूह ‘बी’ को अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको छ । एट्लेटिकोको जितमा खेलको अन्त्यतिर एन्टोइन ग्रिजमन र लुइस सुआरेजले गोल गरे । घरेलु टोलीका राफयल लियोको गोल सान्त्वना बन्यो ।

फ्रान्क केस्सी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलान २९औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । जितसँगै अपराजित रहेको एट्लेटिको दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित मिलान अंकविहीन हुदै पुछारमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button