विशेष

एमसीसी विवाद : राजनीतिक होइन, राष्ट्रिय स्वार्थ हेरौं

प्रकाशकुमार उपाध्याय

Thrill Factory
Rungta Group

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अहिले नेता, बुद्धिजीवी , अभियन्ता हुदै जनस्तरसम्म धेरै नै चासो र विवादको विषय बनिसकेको छ।

विरोध र समर्थनको अवस्था ले ४ वर्ष देखि थाती रहेको एमसीसी विवाद अहिले गिजोलिएको छ। अमेरिकी अनुदान सहयोग एमसीसी नेपाल को लागि आवश्यक छ छैन भन्ने कुराको अब छिनोफानो गरिनु पर्छ।

अन्यथा नेपाल लाई सहयोग गर्न चाहने दाता राष्ट्रप्रति नै सन्देह गरी नकारात्मक भाव पैदा हुने गरी विरोध गर्नुले मुलुकको दीर्घकालीन हितमा हुँदैन।अहिलेको भूमण्डलीकृत विश्वबजारमा कसैसँग सहयोग नलिएर वा अलग बसेर पनि प्रगति गर्न सम्भव छैन।

हामीले के पनि बुझ्नु पर्छ भने सहयोगदाताका पनि आफ्ना केही निश्चित शर्त र स्वार्थ हुन्छन, जो स्वाभाविक पनि हो । तर, हामीले आफ्नो देशको स्वार्थ हेरेर आफूले निर्णय लिन सक्नु पर्छ।

चीनको बेल्ट एण्ड रोड होस् वा अमेरिका को एमसीसी रणनीतिक सहयोग नै हो। त्यसैले नेपालले सहयोग लिँदा आफ्नो शर्त र दीर्घकालीन नाफाघाटाका विषयलाई बलियोसँग राख्न सक्नुपर्छ।

कुनै पनि यस्ता अन्तर्राष्ट्रिय परियोजना स्वीकार गर्ने वा नगर्ने भन्ने विषय दलगत आग्रह र पूर्वाग्रहप्रेरित हुनु हुँदैन। सत्तामा रहदा पास गर्न खोज्ने र सत्ताबाट बाहिरिएपछि विरोधका लागि राजनीतिक एजेण्डा बनाइनु हुँदैन।

विगतमा अरुण तेस्रोको विरोध हुँदा विश्व बैकले हात झिकेको घटनाबाट पाठ सिक्दै एमसीसी सम्झौता दुई पक्ष बीच भईसकेको अवस्थामा नेपालले यो लागू नगर्दा आज अमेरिका चिढिएला, भोलि बीआरआई सम्झैताबाट पछि हट्दा चीन पनि चिढिएला भने नेपालको परराष्ट्र सम्बन्ध दाता राष्ट्रहरूसँग कस्तो होला ?

त्यसैले आवेग र आक्रोशभन्दा पनि समझदारी र कूटनीतिक चातुर्यका साथ स्पष्ट भएर अगाडि बढनु पर्ने हुन्छ। एमसीसी सम्झौता गरेर ल्याइसकेको अनुदान सहयोग हो ।

त्यसैले यसलाई ठाडै अस्वीकार गर्नुभन्दा पनि हाम्रो राष्टिय हितमा प्रतिकूल असर पर्ने बुँदाहरू संशोधन गरी पारित गर्ने कुरामा राष्ट्रिय सहमति बन्नु पर्छ।

खर्चमा पारदर्शिता, नीतिमा स्पष्टतासहित हाम्रो भूसंवेदनशीलता, छिमेकीको सुरक्षा चासो, राष्ट्रिय अखण्डता, संविधानको सर्वोच्चता, सार्वभौमिकतालाई ख्याल राखी नेपालको समृद्धि यो परियोजनाबाट कसरी अधिक लाभ लिन सकिन्छ भन्नेतर्फ गम्भीरतापूर्वक अध्ययन, मनन गरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर एमसीसी विवादलाई निकास दिनु पर्छ।

उपाध्याय नेपाली कांग्रेस पर्साका उपसभापति हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button