खबर फटाफटस्वास्थ्य/जिवनशैली

अमेरिकाले १५ लाखलाई पुग्ने खोप दिने

Thrill Factory
Rungta Group

काठमाडौं -अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने खोप उपलब्ध गराउने भएको छ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्।

अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो। यो खोप एक मात्रा (डोज) लगाए पुग्छ। राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्ना लागि अन्त्यन्तै खुसीको क्षण भएको उल्लेख गरेका छन्। ‘अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम  गरिरहने छ’, उनले उल्लेख गरेका छन्। उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारे यकिन भइनसकेको अमेरिकी दूतावासले जनाएको छ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन्। यद्यपि, यो खोप सहयोग भने अमेरिकी जनताका तर्फबाट भएको जनाइएको छ। अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने वाचा गरेको थियो। तर, नेपालले अमेरिकाले वाचा गरेको खोप हालसम्म प्राप्त गरेको छैन।
सरकारले चीनको सिनोफार्म कम्पनीबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार ल्याइएको छ। उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ। जसमध्ये पहिलो खेपमा ८ लाख डोज ल्याइएको हो।
स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार चीनबाट प्राप्त भएको खोपलाई तीनवटा प्रदेशमा पठाइएको छ। डा. गौतमले  बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पठाइएको बताए। भने, ‘खोप ढुवानी गर्ने रेफ्रिजेरेटर भ्यानबाट हेटौंडा, पोखरा र बुटवलस्थित प्रादेशिक भण्डारणमा पठाइसकेका छौं।’

जनसंख्याको अनुपातमा पठाइएको उक्त खोप कुन मितिदेखि कुन उमेर समूहलाई प्राथमिकता दिने विषयमा निर्णय भइनसकेको डा. गौतमले बताए। ‘कोभिड–१९ राष्ट्रिय खोप कार्ययोजनामा तोकिएको प्राथमिकता अनुरूप निर्णय हुन्छ। कति खोप प्राप्त हुन्छ। त्यसको आधारमा पनि कुन उमेर समूलाई प्राथमिकता दिने भन्ने कुराको निर्धारण गर्छ’, उनले भने।

यसअघि भारतबाट उपलब्ध गराइएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो। ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई उक्त खोप लगाइएकोमा अब ५० वर्ष नाघेका व्यक्तिले खोप पाउने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलसम्म ५५ वर्षमाथिका करिब १७ लाखलाई खोप लगाइसकेको स्वास्थ्य सेवा  विभागले जनाएको छ।

खोप शाखा प्रमुख डा. गौतमले अहिले ५५ वर्ष नाघेका अधिकांशले खोप लगाइसकेकाले अब बाँकी रहेको उमेर समूहमा खोप लगाइने बताए। भने, ‘खोप आएमा त्योभन्दा तल्लो उमेर समूहमा पनि जान्छौं। विभिन्न मुलुकबाट आउने खोपबारे स्पष्ट भइसकेको छैन। भण्डारको तयारी गरिरहेका छौं। खोप आएको अवस्थामा लगाउन  पनि सुुरु गर्छौं।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button