खेल संसार

नासेरलाई प्रतिबन्ध

Thrill Factory
Rungta Group

लन्डन – बहराइनकी धाविका सल्वा इद नासेरले यही महिनामा जापानमा सुरु हुने टोकियो ओलम्पिक गुमाउने भएकी छन्। एन्टी डोपिङको नियम उल्लंघन गरेको आरोपमा  दुई वर्षको प्रतिबन्धमा परेपछि चार सय मिटरकी विश्व च्याम्पियन नासेरले टोकियो ओलम्पिक खेल्न नपाउने भएकी हुन्।

सन् २०१९ देखि एक वर्षको अवधिमा डोपिङ परीक्षणमा अनुपस्थित भएपछि विश्व एथलेटिक्सले नासेरलाई प्रतिबन्ध गरेको हो। नासेर गत वर्ष नै अस्थायी निलम्बन परेकी थिइन्। बुधबारबाट लागू हुने उनको प्रतिबन्ध सन् २०२३ को सुरुआतसम्म रहनेछ।
गत वर्षको जुन ४ देखि अक्टोबर १४ सम्म उनीमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो। उनलाई सन् २०१९ को जनवरी १ देखि २०२० को जनवरी २४ को समयमा चार वटा डोपिङ परीक्षणमा अनुपस्थित भएकी थिइन्। एक वर्षभित्र तीन पटक डोपिङ परीक्षणमा अनुपस्थित भएमा एन्टी डोपिङ नियम उल्लंघन गरेको मानिन्छ।

नासेरले विभिन्न कारणले आफू तीन पटक डोपिङ परीक्षणमा अनुपस्थित भएको स्वीकार गरेकी छिन्। ‘म जानाजान डोपिङ परीक्षणमा अनुपस्थित भएको होइन। विभिन्न कारणले म परीक्षणमा सहभागी हुन सकिन्। म तीन वटा परीक्षणमा अनुपस्थित भएको थिएँ। त्यो सामान्य पनि थियो’, उनले भनेकी छन््, ‘मैले कुनै धोकाबाजी गरेको छैन। यस्तो अवस्था सबैलाई आउन सक्छ। यसबारे सचेत हुन म सबै खेलाडीलाई अनुरोध पनि गर्दछु।’ उनले आफू आफ्नो प्रदर्शन र क्षमतामा विश्वास राख्ने बताउँदै कहिले पनि प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन नगरेको बताइन्। ‘म आफ्नो प्रदर्शन र क्षमतामा विश्वास राख्दछु। मलाई थाहा छ, मसँग प्रतिभा छ’, उनले भनेकी छन्, ‘त्यसैले म कहिले पनि शक्तिवद्र्धक औषधि प्रयोग गर्ने छैन।’

नासेरले प्रतिबन्धविरुद्ध खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (सीएएस) मा अपिलसमेत गरेकी थिइन्। सीएएसले उनको अपिल खारेज गर्दै एन्टी डोपिङको अनुच्छेद २.४ उल्लंघनमा दोषी ठहर्‍याएको हो।

दुई वर्षको प्रतिबन्धसँगै २३ वर्षीय नासेरले जापानमा आयोजना हुने टोकियो ओलम्पिकसँगै अर्को वर्ष ओरेगनमा हुने वल्र्ड एथलेटिक्स च्याम्पियनसिप पनि गुमाउने भएकी छिन्। टोकियो ओलम्पिक यी जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ। नासेरले सन् २०१९ मा कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा चार सय मिटर दौडमा ४८.१४ सेकेन्डको विश्व कीर्तिमान बनाएकी थिइन्। उनी विश्व च्याम्पियनसिपको उपाधि जित्ने पहिलो एसियाली महिला खेलाडी पनि हुन्। सन् १९९८ मा नाइजेरियामा जन्मिएकी नासेर सन् २०१४ बाट बहराइनबाट खेल्दै आएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button