खेल संसार

एउटाको तयारी, अर्कोले खेल्ने !

Thrill Factory
Rungta Group

काठमाडौं – यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ। उनीहरू लामो समयदेखि ओलम्पिकको तयारीमा व्यस्त छन्। तर, बिहीबार एक्कासि एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीको स्थानमा अर्की एथलेटिक्स खेलाडी सरस्वती चौधरीले ओलम्पिक खेल्ने घोषणा गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिहीबार एक विज्ञप्ति निकाल्दै नियमित कोटाअन्तर्गत एथलेटिक्सको म्याराथनमा नभई महिला एक सय मिटर दौडमा मात्रै कोटा पाएको भन्दै गोपीको स्थानमा सरस्वतीले ओलम्पिक खेल्ने जनाएको छ।

यसअघि म्याराथन धावक गोपीचन्द्र पार्कीले नियमित कोटामा टोकियो ओलम्पिक खेल्ने तयारी थियो। टोकियो ओलम्पिकको छनोटका रूपमा नेपालगन्ज म्याराथनलाई लिइएको थियो। १३औं दक्षिण एसियाली खेलकुदमा पाँच हजार मिटर दौडका स्वर्ण विजेता पार्कीले नेपालगन्ज म्याराथनको उपाधि जित्दै ओलम्पिकका लागि छनोट भएका थिए। उनले त्यहीअनुसार तयारी पनि गरिरहेका थिए।

तर, विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला एक सय मिटरमा कोटा दिएका कारण सरस्वतीलाई पठाइएको विज्ञप्तिमा जनाइएको छ। म्याराथनमा कोटाभन्दा बढी आवेदन परेकाले नेपाललाई महिला एक सय मिटर दौडमा कोटा दिएको जनाइएको छ।

‘नेपाललाई म्याराथनमा नभई महिला विधाको एक सय मिटर दौडमा कोटा छुट्ट्याइएको जानकारी प्राप्त भएको छ। नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सम्बन्धित निकायमा पार्कीको सहभागिताका लागि अथक प्रयास गरिएको थियो’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, त्यो सम्भव हुन सकेन। नेपाललाई उपलब्ध कोटाअनुसार नेपालका उत्कृष्ट खेलाडी सरस्वती चौधरीको नाम पठाइएको बेहोरा सबैमा जानकारी गराइन्छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button