प्रदेश

मनसुन समयमै शुरू हुँदा किसानलाई राहत

Thrill Factory
Rungta Group

विराटनगर । मनसुन समयमै शुरू भएकाले प्रदेश १ का किसानले धमाधम रोपाइँ गर्न थालेका छन् । सोमवारसम्ममा प्रदेशमा १८ प्रतिशत धान रोपाइँ सकिएको छ ।

प्रदेश १ को मध्यपहाडी जिल्लामा सबैभन्दा बढी २८ प्रतिशत र तराईका जिल्लामा सबैभन्दा कम १४ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरले बताएको छ ।

प्रदेश १ मा ३ लाख ४ हजार ८०० हेक्टर क्षेत्रमा धान खेती हुँदै आएकोमा सोमवारसम्म ६१ हजार ५०० हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ । गतवर्ष सो अवधिमा २२ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेशका मध्य पहाडी जिल्लामा २८ प्रतिशत धान रोपाइँ भएको छ । इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुर जिल्ला मध्यपहाडी क्षेत्रमा पर्छन् । ती जिल्लामा ९० हजार ९१६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा हालसम्म २५ हजार ५०८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । उच्च पहाडी जिल्लामा भने २२ प्रतिशत रोपाइँ भएको छ । ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा उच्च पहाडी क्षेत्रमा पर्छन् ।

सोलुखुम्बुमा सबैभन्दा बढी ४६ प्रतिशत धान रोपाइँ भएको छ । धान रोप्न चाहिने उपयुक्त समय र निरन्तर आकाशे पानी परेकाले रोपाइँ बढी भएको कृषिविज्ञ नेत्रमणि काफ्लेले जानकारी दिए ।

उच्च पहाडी जिल्लाको ताप्लेजुङमा ८ हजार ७३७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा २२ प्रतिशत धान रोपाइँ भएको छ । संखुवासाभामा १३ हजार ८५१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १० प्रतिशत धान रोपाइँ भएको छ । तराईका जिल्लामा भदौ १५ सम्मको धान रोपाइँ हुने गरेको कृषिविज्ञ काफ्लेले बताए ।

प्रदेश १ को तीनओटा तराइँको जिल्लामा भने १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मोरङ, सुनसरी र झापा प्रदेश १ का सबैभन्दा बढी धानखेती हुने जिल्ला हुन् । झापामा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये १७ प्रतिशत धान रोपाइँ भएको छ ।

मोरङमा भने १२ प्रतिशत धान रोपाइँ भएको छ । मोरङमा ८३ हजार ३०० हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये ९ हजार ९९६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । सुनसरीमा धानखेती हुने ५५ हजार हेक्टर क्षेत्रफलमध्ये १३ प्रतिशतमा मात्र रोपाइँ भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button