सिमलताल दुर्घटना : आपतकालीन प्रतिकार्य संयन्त्रमाथि उठेको प्रश्न

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बस र यात्रुहरूको खोजी आज पनि जारी छ।
अहिलेसम्म १४ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन्। तर हराइरहेका बस अझै फेला परेका छैनन्।
भेटिएका शवमध्ये सातवटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।
उनका अनुसार सनाखत भएका सात शवमा तीन वटा भारतीय नागरिकका हुन्। अरू मृतक नेपाली नागरिक हुन्।
हराइरहेका अन्य यात्रु तथा दुवै बसको खोजी कार्य आज मङ्गलवार जारी रहने अधिकारीहरूले बताए । अधिकारीहरूले केही शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का व्यक्त गरेका छन्।
घटना भएको चार दिनसम्म पनि डुबेका बस फेला पार्न नसक्नु र अधिकांश यात्रुको अवस्था अज्ञात रहनुले नेपालको “आपत्कालीन प्रतिकार्य संयन्त्र निकै कमजोर देखाएको” कतिपय विज्ञहरूको भनाइ छ।
उता नेपालमा उपलब्ध उपकरणहरू तथा जनशक्तिले मात्र खोजी तथा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारले त्यसका लागि भारतको सहयोग खोजेको गृह मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन्।
हरेक बिहानदेखि साँझसम्म खोजी गर्ने र अँध्यारो भएपछि त्यसलाई स्थगित गर्ने गरिँदै आएको अधिकारीहरूले जानकारी दिएका छन्।
उक्त कार्यमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोरहरू खटाइएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएको जानकारीअनुसार दुवै निकायका गरेर कुल २८ जना गोताखोरहरू काममा निरन्तर खटिएका छन्।
खोजी तथा उद्धारमा संलग्न सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेका अनुसार बस तथा यात्रुको खोजीका लागि मुख्यत: तीन वटा तरिका अपनाइएको छ।
-पानीको सतहमा विभिन्न माध्यमबाट निरीक्षण गर्ने
-पानीको सतहमुनी ‘ग्राउन्ड वाटर ड्रोन’ र ‘सोनर उपकरण’ प्रयोग गरेर बस तथा यात्रु पहिचानको प्रयास गर्ने
-सम्भावित वस्तु देखिएको वा शङ्का लागेको स्थलमा गोताखोर पठाएर निरीक्षण, परीक्षण तथा निकाल्ने काम गर्ने
यसरी जारी राखिएको खोजी कार्यमा विभिन्न अवरोध उत्पन्न भएकाले सफल हुन नसकेको उनले बताए।
भएका उपकरण प्रयोगमा समस्या भइरहेका बेलामा सशस्त्र प्रहरीले यस्तो परिस्थितिमा पानीमाथिबाटै ‘स्क्यान’ गरेर वा अन्य विधिबाट डुबेका बस खोज्ने खालका उपकरण आफूसँग नभएको स्वीकार गरेको छ।
घटनाको चार दिनपछि सशस्त्र प्रहरीले निजी क्षेत्रमा सञ्चालनमा रहेको धमिलो पानीमा पनि ३०० मिटरमुनिसम्मका वस्तुहरूलाई ‘रे’का माध्यमबाट पहिचान गर्न सक्ने सोनर डिभाइस सशस्त्र प्रहरीले त्रिशूलीमा पुर्याएको छ।



