No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

सरकारी स्वास्थ्य संस्थाहरूमा फोलिक एसिड र आइरन चक्की अभाव, कस्तो समस्या पर्छ ?

पछिल्ला केही महिनादेखि देशभरका कतिपय सरकारी स्वास्थ्य संस्थाहरूमा फोलिक एसिड र आइरन चक्की लगायत निःशुल्क वितरण हुने औषधिहरूको अभाव देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ आर्थिक वर्षको बजेट स्वीकृत नहुँदै औषधि आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाइएको छ।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार चालू आर्थिक वर्षमा बजेट अभावका कारण संघीय सरकारबाट औषधि खरिद हुन नसकेपछि अभाव सिर्जना भएको हो। उनले भने, “यसअघि संघले नै खरिद गरेर प्रदेश र स्थानीय तहमा पठाउने गर्थ्यो। तर, यो वर्ष बजेट नआउँदा केही महिनादेखि अभाव देखिएको हो।”

गर्भवती, सुत्केरी र किशोरीहरूका लागि अत्यावश्यक मानिने यी औषधिहरुको अभावका कारण सेवा लिन आउने महिलाहरू प्रभावित भएका छन्। चिकित्सकहरूका अनुसार फोलिक एसिड र आइरन चक्कीले भ्रूण विकास, रक्तकोष निर्माण र सुरक्षित मातृत्वमा महत्वपूर्ण भूमिका खेल्छ।

सरकारले आगामी आर्थिक वर्षका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र र अस्पतालहरूबाट निःशुल्क औषधि आपूर्ति सुनिश्चित गर्न २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। “देशभरका स्वास्थ्य संस्थालाई लक्षित गरेर खरिद प्रक्रिया अघि बढिसकेको छ। चाँडै नै आपूर्ति हुनेछ,” रायमाझीले बताए।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार औषधिको खपत अनुमान गरी खरिद गरिने प्रचलन छ। “दुई वर्षअघि खरिद गरिएका औषधिले चालू असारसम्म पुग्ने अपेक्षा थियो तर मौज्दात अन्त्य भयो,” उनले भने। विभागले बजेट माग गरे पनि समयमै प्राप्त नभएकाले आपूर्ति प्रभावित भएको उनले जानकारी दिए।

नेपालमा सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण गरिने औषधिको सूचीमा फोलिक एसिड र आइरन चक्की पनि पर्छन्। तर, पोषण कार्यक्रमअन्तर्गत यी औषधिहरू विभागले नै खरिद गर्ने परम्परा रहँदा प्रदेश र स्थानीय तहहरू आपूर्तिका लागि केन्द्रमा निर्भर रहँदै आएका छन्। यसै कारण अभाव व्यापक भएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रिज्मा श्रेष्ठका अनुसार गर्भावस्थाको पहिलो तीन महिनामा फोलिक एसिड र त्यसपछि आइरन र क्याल्सियम आवश्यक हुन्छ। “फोलिक एसिडले न्युरल ट्युब डिफेक्टजस्ता गम्भीर जन्मजात समस्याबाट जोगाउन मद्दत गर्छ भने आइरनले रक्तअल्पता न्यूनीकरणमा भूमिका खेल्छ,” उनले भनिन्।

सन् २०२२ मा गरिएको स्वास्थ्य मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा ६–५९ महिनाका ४३ प्रतिशत शिशु र १५–४९ वर्षका ३४ प्रतिशत महिलामा रक्तअल्पता समस्या देखिएको थियो।

अभावकै कारण कतिपय स्रोतसञ्चित प्रदेश र स्थानीय तहहरूले आन्तरिक रूपमा आफैँ औषधि खरिद गरेर वितरण गरेका छन्। गण्डकी प्रदेशको उदाहरण दिँदै प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रकी महानिर्देशक डा. रेखा पौडेलले भनिन्, “स्वास्थ्य विभागबाट औषधि पठाउन नसकिने सूचना चैतमै पाएका हौँ। आकस्मिक व्यवस्थापनका लागि दस लाख रुपैयाँबाट खरिद प्रक्रिया थालेका छौँ। तर, त्यो मुस्किलले एक महिना मात्र पुग्नेछ।”

पोखराको मातृशिशु मितेरी प्रादेशिक अस्पताल र प्रादेशिक जेनरल तथा सरुवा रोग अस्पतालमा पनि हाल फोलिक एसिड र आइरन चक्की अभाव रहेको छ। भरतपुरस्थित चितवन अस्पताल जस्ता संघअन्तर्गतका अस्पतालहरूमा भने यी औषधिको अभाव नभएको बताइएको छ।

स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार खरिद प्रक्रिया अघि बढिसकेकाले चाँडै नै आपूर्ति नियमित हुने अपेक्षा गर्न सकिन्छ। तर, मिति तोक्न भने अझै सकस छ। “सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया अघि बढ्छ। कहिलेकाहीँ दोस्रो पटक बोलपत्र आह्वान गर्नुपर्ने अवस्था आउँछ,” डा. लालले बताए।

प्रदेश र स्थानीय तहहरूलाई गर्भवती तथा सुत्केरी महिलाहरूको अनुमानित सङ्ख्या अनुसार औषधि वितरण गरिने र अभाव टार्न अस्थायी रूपमा स्थानीय स्तरबाट पनि खरिद गर्न सकिने उनले जानकारी दिए।


सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button