विश्वकप छनोट फुटबल: क्रोएसियाको शानदार जित, चेक गणतन्त्र ५–१ ले पराजित

युरोपेली क्षेत्रको विश्वकप फुटबल छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा क्रोएसियाले चेक गणतन्त्रमाथि सानदार प्रदर्शन गर्दै ५–१ को फराकिलो जित निकालेको छ।
समूह ‘एल’ मा रहेको क्रोएसियाले विश्वकप छनोटको सुरुवाती दुई खेलमा कुल १२ गोल गर्दै प्रभावशाली शुरुवात गरेको छ। यसअघि पहिलो खेलमा उसले जिब्राल्टरलाई ७–० ले हराएको थियो।
चेक गणतन्त्रविरुद्धको खेलमा क्रोएसियाका आन्द्रे क्रामारिकले ४२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर ५८ औँ मिनेटमा चेकका टोमास साउसेकले नजिकको दूरीबाट गोल गर्दै खेल बराबरीमा ल्याए।
तर त्यसपछि क्रोएसियाले खेलको गतिलाई तीव्र बनाउँदै १३ मिनेटको अन्तरालमा चार गोल थप्दै सहज जित सुनिश्चित गर्यो। ६२ औँ मिनेटमा कप्तान लुका मोड्रिकले पेनाल्टीमार्फत गोल गरे।
त्यसपछि ६८ औँ मिनेटमा इभान पेरिसिक, ७२ औँ मिनेटमा आन्द्रे बुडिमिर र ८० औँ मिनेटमा पुनः क्रामारिकले गोल गर्दै नतिजालाई ५–१ मा पुर्याए।
समूह ‘एल’ कै अर्को खेलमा फारो आइजल्यान्डले जिब्राल्टरलाई २–१ ले पराजित गरेको छ। जिब्राल्टरले खेलको २३ औँ मिनेटमा स्कालटनको गोलमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफमा फारो आइजल्यान्डका फ्रेडरिक्सबर्ग र जोनान्सेनले गोल गर्दै टोलीलाई जित दिलाए।


