आईपीएल इलिमिनेटरमा मुम्बईको ऐतिहासिक प्रदर्शन, प्लेअफमा दोस्रो उच्च योगफल

इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटान्सलाई पराजित गर्दै प्लेअफ इतिहासमा दोस्रो ठूलो योगफलको कीर्तिमान बनाएको छ। मुम्बईले पाँच विकेट गुमाउँदै २२८ रन बनायो, जुन प्लेअफ इतिहासमा दोस्रो उच्च योगफल हो।
यसअघि सन् २०२३ मा गुजरात टाइटान्सले मुम्बईविरुद्ध तीन विकेट गुमाउँदै २३३ रन बनाएको थियो। मुम्बईका पूर्व कप्तान रोहित शर्माले यस खेलमा व्यक्तिगत कीर्तिमान पनि बनाएका छन्।
उनले आईपीएलमा ७०३८ रन पुरा गरेका छन्। विराट कोहली ८६१८ रनसहित शीर्ष स्थानमा छन्। रोहितले ३०२ छक्का प्रहार गर्दै आईपीएलमा ३०० भन्दा बढी छक्का हान्ने दोस्रो खेलाडी बनेका छन्। यस सूचीमा क्रिस गेल ३५७ छक्कासहित शीर्ष स्थानमा छन्।
रोहितले मुम्बई इन्डियन्सका लागि २५१ र डेक्कन चार्जर्सका लागि ५१ छक्का प्रहार गरेका छन्। एउटै फ्रेन्चाइजिका लागि सबैभन्दा धेरै छक्का हान्ने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन्। आरसीबीका विराट कोहलीले आफ्नै टोलीका लागि २९१ छक्का प्रहार गरेका छन्।
यस सिजन गुजरात टाइटान्सका साई सुदर्शनले ७५९ रन बनाउँदै एक सिजनमा सबैभन्दा धेरै रन बनाउने पाँचौँ खेलाडी बनेका छन्। गुजरातका लागि यसअघि शुभमन गिलले सन् २०२३ मा ८९० रन बनाएका थिए।
मुम्बई इन्डियन्सले आईपीएल इतिहासमा अहिलेसम्म २०० रनभन्दा बढी लक्ष्य १८ पटक दिएको छ र सबै खेलमा विजयी भएको छ।
गुजरातविरुद्धको इलिमिनेटर खेलमा कुल ४३६ रन बनेका थिए, जुन आईपीएल प्लेअफ इतिहासमै सबैभन्दा धेरै रन भएको खेल हो।
बलिङतर्फ, यस सिजन अफगानिस्तानका रसिद खानको बलमा ३३ छक्का प्रहार भएका छन्। आईपीएलको एकै सिजनमा बलरको बलमा सबैभन्दा धेरै छक्का हानिएको यो पहिलोपटक हो। यसअघि सन् २०२२ मा मोहम्मद सिराजको बलमा ३१ छक्का हानिएको थियो।


