देशमुख्य खबर

तीन दिन सवारीसाधन चलाउन रोक, सडक अवरुद्ध भएपछि चितवनमै रोकिए सवारीसाधन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारीसाधन आगामी ३ दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरेर भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढ्ने भएकाले आगामी ३ दिन सवारीसाधन सञ्चालन नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको तथा त्यसको अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको जनाएको छ ।

नारायणगढ हुँदै काठमाडौँ आउने सवारीसाधनलाई चितवनमा रोकिएको छ । शुक्रवार साँझदेखि परेको वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’अनुसार सवारीसाधन रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौँ जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकेको हो ।

उनले भने, “भरतपुर–मुग्लिन–पोखरा सडक सञ्चालनमा रहेको छ ।” नारायणगढ मुग्लिन सडकखण्ड अहिले सञ्चालनमा रहेको छ । केही स्थानमा ढुंगा खसे पनि तत्काल पन्छाउने गरिएको जानकारी उनले दिए ।

उनका अनुसार काठमााडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्‌कालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटारर र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्तिचोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधनहरू रोकिएको छ ।

सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या हुने भएकाले विभिन्न स्थानमा ‘स्टपिङ प्लान’ बनाएर रोकिएको हो । उनले भने, “धेरै स्थानमा सवारीसाधन रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या नआउने हुन्छ ।” बाटो पूर्ण रुपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button