
अबका केही दिन भारी वर्षा हुने अनुमानबीच सरकारले सुरक्षा, प्रतिकार्य र सतर्ककताको लागि सक्रियता देखाएको छ । काठमाडौंलगातका देशभरिका प्रशासन कार्यालयहरुले शुक्रबारदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले केही दिन रातको समयमा यात्रा नगर्न अनुरोध गरेका छन् ।
विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ ।
शनिबार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षयजस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने सम्भावना भएको हुँदा आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको छ।



