पिसाबको सङ्क्रमण बढ्दै, एन्टिबायोटिक प्रतिरोधले उपचार जटिल

बारम्बार पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने वा तल्लो पेट दुख्ने जस्ता लक्षण देखिँदा मूत्रनलीमा सङ्क्रमण (यूरिनरी ट्र्याक्ट इन्फेक्शन–यूटीआई) भएको संकेत हुन सक्छ। स्वास्थ्य विज्ञका अनुसार यो रोग महिला, पुरुष र बालबालिका सबैमा देखिए पनि महिलामा बढी पाइन्छ।
विश्व स्वास्थ्य निकायका तथ्याङ्कअनुसार प्रत्येक वर्ष करिब ४० करोड मानिसमा पिसाबको सङ्क्रमण देखिन्छ। महिलामध्ये आधाभन्दा बढीले जीवनकालमा कम्तीमा एकपटक यस अनुभव गर्ने गरेका छन्।
कारण र जोखिम
यूटीआई प्रायः मलाशयको वरिपरिको भागमा रहेका ई.कोली जस्ता ब्याक्टेरियाबाट हुने गर्छ। महिलाको मूत्रनली छोटो हुने भएकाले उनीहरूमा संक्रमणको सम्भावना बढी हुन्छ। रजोनिवृत्तिपछि एस्ट्रोजन हर्मोनको कमीले पनि संक्रमणको जोखिम बढाउँछ।
प्रमुख लक्षण
पिसाब गर्दा पोल्ने वा दुख्ने, बारम्बार पिसाब लाग्ने, धमिलो पिसाब, रगत देखिनु, तल्लो पेट वा ढाड दुख्ने, ज्वरो आउनु, थकान र असामान्य मानसिक अवस्था (विशेषगरी वृद्धमा) जस्ता लक्षण देखा पर्न सक्छन्।
उपचार र चुनौती
कतिपय महिलाको प्रतिरोधी क्षमताले संक्रमण आफैं निको पार्छ, तर धेरैलाई एन्टिबायोटिक आवश्यक पर्छ। अत्यधिक औषधि प्रयोगका कारण एन्टिबायोटिक प्रतिरोध बढ्दै गएको अनुसन्धानहरूले देखाएका छन्। पूर्वी अफ्रिकी देशमा गरिएको अध्ययनअनुसार आधाभन्दा बढी बिरामीमा सामान्य एन्टिबायोटिकले काम नगर्ने अवस्था देखिएको छ।
निदान र रोकथाम
सर्वोत्तम निदान ‘मिड–स्ट्रिम यूरिन कल्चर’ परीक्षण हो, जसमा प्रयोगशालामा ब्याक्टेरिया पहिचान गरेर उपयुक्त एन्टिबायोटिक सिफारिस गरिन्छ। एनएचएसका अनुसार, संक्रमण रोकथामका लागि यौनसम्पर्कपछि छिट्टै पिसाब फेर्नु, पर्याप्त पानी पिउनु, र चिकित्सकको सल्लाहअनुसार कम मात्रामा एन्टिबायोटिक, योनि एस्ट्रोजेन वा मेथेनामाइन हिप्प्यूरेट प्रयोग गर्नु उपयोगी हुन्छ।
एक पटक संक्रमित भएका महिलामध्ये करिब २५ प्रतिशतमा यो समस्या बारम्बार दोहोरिन सक्छ। केहीमा ब्याक्टेरिया पिसाब थैलीको भित्री भागमा लुकेर रहँदा दीर्घकालीन संक्रमण देखिन सक्ने विज्ञहरूको भनाइ छ।
स्वास्थ्य विज्ञहरूका अनुसार लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा जाँच गराउनु नै सबैभन्दा सुरक्षित उपाय हो।


