
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री थपेकी छन्। नयाँ नियुक्तीसँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलले शपथ लिएका छन्। चारै जना मन्त्रीले दौरा–सुरुवाल, कोट र कालो भादगाउँले टोपीमा एकरूप पोशाकमा शपथ ग्रहण गरे।
संविधानअनुसार मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यसम्म हुन सक्ने व्यवस्था छ। तर कार्कीले केही दिनअघि अधिकतम ११ सदस्यमा सीमित गर्ने संकेत दिएकी थिइन्। यसअघि पहिलो चरणमा तीन मन्त्री नियुक्त भएका थिए।
विवादपछि स्वास्थ्य मन्त्रालय रिक्त
कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि अतिरिक्त सचिव सङ्गीता कौशल मिश्रको नाम सिफारिस गरे पनि विवाद उठेपछि अन्तिममा नियुक्ति भएन। त्यसकारण यो मन्त्रालयसहित नौवटा मन्त्रालयको जिम्मेवारी हाल पनि प्रधानमन्त्रीले स्वयं सम्हालिरहेकी छन्।
प्रधानमन्त्रीको मातहत रहेका मन्त्रालयमा खानेपानी, परराष्ट्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या पर्छन्।
कार्कीले निकट भविष्यमै बाँकी मन्त्रालयहरूमा पनि नियुक्ति गर्ने संकेत दिएकी छन्।



