दशैंसम्म मनसुन सक्रिय रहने सम्भावना, मधेशमा भने वर्षा कम

मौसमविद्हरूले यस वर्षको मनसुन सेप्टेम्बरको अन्त्यतिर बाहिरिने प्रारम्भिक अनुमान गरे पनि पछिल्ला तथ्यांक र मौसमी अवस्थाले त्यो अवधि लम्बिन सक्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार दशैंसम्म पनि मनसुन सक्रिय रहने सम्भावना प्रबल छ।
“हालको प्रवृत्तिले हेर्दा दशैंसम्म मनसुन बाहिरिने देखिँदैन,” पोखरेलले बताइन्। उनका अनुसार भारतको पश्चिमी भूभागबाट मनसुन बाहिरिने प्रक्रिया सुरु भए पनि नेपालमा केही साता कुर्नुपर्ने देखिएको छ। “भारत, बांग्लादेश र नेपाल एउटै प्रणालीको भाग भए पनि कतैबाट बाहिरिने र कतै अझै सक्रिय रहने अवस्था रहन्छ,” उनले थपिन्।
यो वर्ष नेपालमा मनसुन सामान्यतया भन्दा केही दिन अगाडि, जेठ १५ गते प्रवेश गरेको थियो। प्रारम्भिक प्रक्षेपणअनुसार असोज १४ (बडादशैंको अष्टमी) मा मनसुन समाप्त हुने अनुमान गरिएको थियो। गत वर्ष भने १० जुनमा भित्रिएको मनसुन १२ अक्टोबरमा मात्र बाहिरिएको थियो।
विभागको असोज २ सम्मको तथ्यांकअनुसार देशभर वार्षिक औसतको ८९.१ प्रतिशत, अर्थात् १,१२२.४ मिलिमिटर वर्षा भएको छ। देशभरका १२६ मापन केन्द्रको आधारमा यो परिमाण सरदर दायराभित्र पर्छ। विभागका अनुसार ९२ देखि ११० प्रतिशत वर्षालाई सामान्य मानिन्छ।
तर क्षेत्रीय हिसाबले फरक अवस्था देखिएको छ। मधेश प्रदेशमा हालसम्म वार्षिक सरदरको ६४.५ प्रतिशत मात्र पानी परेको छ। विपरीत, सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने औसतको ११० प्रतिशतसम्म वर्षा रेकर्ड भएको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार बाँकी दुई साताभित्र पनि सरदर वर्षा पूरा हुने सम्भावना उच्च छ, जसले दशैं अवधिसम्म मनसुन सक्रिय रहने संकेत गर्दछ।



