सबस्टेशनमा आगलागीपछि २४ घण्टापछि बारा–पर्सामा विद्युत् आपूर्ति सुचारु

नेपाल विद्युत् प्राधिकरणको परवानीपुर सबस्टेशनमा बुधबार दिउँसो सर्टसर्किटका कारण आगलागी हुँदा बारा र पर्सा जिल्लाको विद्युत् आपूर्ति २४ घण्टा अवरुद्ध भएपछि बिहीबार अपराह्नदेखि पुनः सुचारु भएको छ।
प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेका अनुसार बिहीबार बिहान ६ बजे केहीबेर आपूर्ति सुरु भए पनि १३२ केभीए ब्रेकरको बुस फुटेपछि पुनः सेवा रोकिएको थियो। आवश्यक मर्मतपछि दिउँसो ४ बजेदेखि आपूर्ति पूर्ण रूपमा सञ्चालनमा आएको उनले जानकारी दिए।
बुधबारको घटनामा ११ केभी प्यानलमा भएको सर्टसर्किटले सबस्टेशनमा आगलागी गराउँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरमार्फतको आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो।
लगातारको अवरोधले वीरगञ्ज र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी मात्र होइन, बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगको उत्पादन पनि प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताए। उनले प्राधिकरणले आफ्ना पूर्वाधार समयमै अद्यावधिक नगरेकाले समस्या दोहोरिने अवस्था देखिएको आरोप लगाए।



