रास्वपा पर्सा–३ सभापतिमा मनोज कुर्मी चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको निर्वाचन क्षेत्र नम्बर ३ का सभापतिमा मनोज कुर्मी चयन भएका छन्।
वीरगञ्जस्थित कन्ट्री इन होटलमा आज सम्पन्न क्षेत्रीय पुनर्गठन तथा पदपूर्ति कार्यक्रममा पोखरिया निवासी कुर्मीलाई सभापतिमा चयन गरिएको हो। लामो समय शिक्षण पेसामा संलग्न कुर्मीले नेपाल विद्यार्थी संघमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
उनलाई करिब एक वर्षअघि रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले पार्टी प्रवेश गराएका थिए।
कुर्मीको सभापतित्वमा बनेको सात सदस्यीय समितिमा उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा अरुण गुप्ता तथा तीन जना क्षेत्रीय सदस्य रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समितिहरु पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै विस्तारले जिल्लामा संगठन अझ मजबुत हुने बताए।
उनका अनुसार हालसम्म पर्साका तीन वटा क्षेत्रीय समिति गठन भइसकेका छन् भने आगामी शनिबार (भदौ ७ गते) ठोरीमा भेला गरी क्षेत्र नम्बर ४ को पनि समिति गठन गरिनेछ।
सभापति पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुरुषोत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदीश प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मीलगायतको उपस्थिति थियो।



