No Image Headlineखबर फटाफटदेश
निजीक्षेत्रको सुरक्षमा सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको दाबी गरेका छन्। सोमबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजस्व संकलनदेखि उद्योग–व्यवसाय, बजार र रेमिट्यान्सलगायतका क्षेत्रमा सुधार आएको उल्लेख गरे।
“लगानीको वातावरण क्रमशः सहज बन्दै गएको छ। उद्यममा लगानीको लागि सुरक्षाको प्रत्याभूति मुख्य सरोकार हो, त्यसमा सरकार गम्भीर छ,” मन्त्री लेखकले भने।
उनका अनुसार वर्तमान सरकारले विगत १३ महिनामा सुरक्षा सुदृढीकरणसँगै लगानी प्रवर्द्धनमा प्राथमिकता दिएको छ। कानून निर्माणदेखि विकास–निर्माणका विभिन्न काममा सरकार सक्रिय रहेको उनले बताए।
पत्रकारको प्रश्नमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अविभाज्य भूभाग भएको स्पष्ट पार्दै यसबारे छिमेकी राष्ट्रहरूले असन्तुष्टि जनाउनु नपर्ने टिप्पणीसमेत गरे।



