वीरगंज भन्सार एकीकरणपछि तालमेल अभाव, भन्सार प्रशासकले भने– ‘समस्या छैन’
चालू आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै (साउन १ गतेदेखि) वीरगंज भन्सार मातहतमा श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएपछि कर्मचारीहरूबीच कार्य समन्वयमा कमी देखिएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
भन्सारमा सामान जाँचपास गराउन जाने व्यवसायीहरूको भनाइअनुसार, भन्सार प्रमुखदेखि अन्य कर्मचारीसम्मको तालमेल नमिल्दा सेवा प्रभावित भएको छ। यसअघि छुट्टाछुट्टै सञ्चालन हुँदै आएको श्रीसिया सुक्खा बन्दरगाह र वीरगंज भन्सार कार्यालय एकीकरण भएपछि कार्यप्रणालीमा समस्या देखिएको उनीहरूको आरोप छ।
व्यवसायीहरूका अनुसार, हरेक महाशाखामा भन्सार प्रमुख, भन्सार अधिकृत र नायब सुब्बालगायतको खटनपटन एक–एक महिना वा १५ दिनमै भइरहेकाले कतिबेला कुन कर्मचारी कहाँ हुने हो भन्ने अनिश्चितताले काममा ढिलाइ भएको छ। “नयाँ व्यवस्था लागू भएपछि कतिपय कर्मचारी नयाँ स्थानमा सामञ्जस्यता मिलाउन असहज महसुस गरिरहेका छन्,” एक भन्सार एजेन्ट प्रतिनिधिले भने।
तर वीरगंज भन्सारका दीपक लामिछानेले भने कर्मचारीबीच तालमेलको कमी नरहेको दाबी गरे। उनका अनुसार, आर्थिक वर्षको पहिलो महिनामा आयात–निर्यात कम हुने भएकाले चहलपहल घटेको हुनसक्छ।
लामिछानेका अनुसार वीरगंज भन्सार मातहतमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी), श्रीसिया सुक्खा बन्दरगाह भन्सार र यात्रु (पुरानो भन्सार) गरी तीन महाशाखा सञ्चालनमा छन्। हाल रामप्रसाद पाठक, राजेन्द्र ढुङ्गाना र धनबहादुर बरुवाल गरी तीन भन्सार प्रमुखले महिनावारी पालो बदल्दै काम गरिरहेका छन्। भन्सार अधिकृत र नायब सुब्बाहरू पनि निश्चित तालिका अनुसार १५ दिन वा एक महिनामा शाखा परिवर्तन गर्दै सेवा दिइरहेका छन्।
उनका अनुसार, यस्तो प्रणालीले भन्सारको कारोबार पारदर्शी बनाउन र अनियमितता न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। व्यवसायीलाई कसैले घूस मागे वा दुःख दिए तुरुन्तै जानकारी दिन आग्रह गर्दै, दोषी भेटिए तत्काल कारबाही गर्ने चेतावनी उनले दिएका छन्।



