No Image Headlineअन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश: भारतबाट हुने आयातमा थप २५ प्रतिशत कर, नेपाललाई कस्तो असर पर्छ ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै भारतबाट हुने आयातमा थप २५ प्रतिशत भन्सार कर लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यस निर्णयसँगै अब भारतबाट अमेरिकामा हुने कुल आयातमा कर दर ५० प्रतिशतसम्म पुग्नेछ।

ह्वाइट हाउसले बुधबार जारी गरेको आदेशअनुसार यो नयाँ कर दर आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ। उक्त कर भारतबाट उपभोगका लागि अमेरिका भित्रिने वा गोदामबाट उपभोगको लागि झिकिएका सामानहरूमा लागु हुने जनाइएको छ।

यो निर्णय ट्रम्पका विशेष दूत स्टिभ विट्कोफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेपछि आएको हो। रुसले युक्रेनमा युद्धविरामका लागि दिएको समयसीमाअघि विट्कोफ र पुटिनबीच भेट भएको थियो।

यसअघि ट्रम्पले अमेरिकाले रुसबाट युरेनियम, मल र रसायन आयात गर्नेबारे आफू अनविज्ञ रहेको बताएका थिए। तर भारतले भने सार्वजनिक रूपमा अमेरिकाको दोहोरो मापदण्डको आलोचना गरेको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “अमेरिका अझै पनि रुसबाट परमाणु उर्जा क्षेत्रमा प्रयोग हुने युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारीका लागि आवश्यक प्यालेडिअम, र मल तथा रसायन आयात गरिरहेको छ।”

राष्ट्रपति ट्रम्पलाई यसबारे सोधिएकोमा उनले भने, “मलाई यसबारे केही थाहा छैन। मैले पत्ता लगाउनु पर्छ। हामी तपाईँलाई पछि जानकारी दिनेछौं।”

उनले भारतले रुसबाट ठूलो मात्रामा तेल खरिद गरेर तेस्रो देशहरूलाई पुनः बिक्री गरी नाफा कमाइरहेको आरोप पनि लगाएका छन्। साथै, उनले अन्य रुससँग तेल कारोबार गर्ने देशहरूमाथि पनि थप कर लगाउने तयारी भइरहेको बताएका छन्।

भारतले यसमा तीव्र प्रतिक्रिया जनाउँदै सोमवार एक वक्तव्यमार्फत अमेरिका र युरोपेली सङ्घको आलोचना गर्दै रुसबाट तेल किनेको विषयमा आफूलाई मात्र निशाना बनाउनु अनुचित र तर्कहीन भएको उल्लेख गरेको छ। भारतको भनाइमा, युरोप र अमेरिका आफैँ पनि रुससँग व्यापार गरिरहेका छन्।

भारतको विदेश मन्त्रालयले भनेको छ, “कुनै पनि प्रमुख अर्थतन्त्रझैँ, भारतले आफ्ना राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नेछ।” पछिल्लो तथ्यांकअनुसार, अमेरिकाले गत वर्ष रुससँग कर र प्रतिबन्धबीच पनि ३.५ अर्ब डलर बराबरको व्यापार गरेको थियो।

नेपाललाई कस्तो असर पर्छ ?
ट्रम्प प्रशासनले भारतबाट हुने आयातमा थप कर लगाउने निर्णयको नेपालमा प्रत्यक्ष असर नभए पनि केही महत्वपूर्ण परोक्ष असरहरू पर्न सक्छन्। नेपालको धेरैजसो आयात भारतमार्फत हुन्छ । भारतले पनि धेरै उच्च प्रविधियुक्त सामग्री जस्तै मोबाइल, इलेक्ट्रोनिक्स, अटो पार्ट्स अमेरिका वा अन्य विकसित मुलुकबाट ल्याएर नेपालमा पुनः बिक्री गर्ने गर्छ। भारतले पनि बदलामा यस्ता सामानको आयातमा कर बढायो भने नेपालमा आयात हुने मूल्य पनि बढ्न सक्छ।

अमेरिकी कर वृद्धिका कारण आर्थिक दबाब पर्न सक्छ। यस्तो अवस्थामा भारतले आफ्नो निर्यात बढाउन संरक्षणवादी नीतिहरू अपनाउन सक्छ । नेपालमा पनि विशेषगरी पेट्रोलियम, रसायन र मलमा मूल्य वृद्धिको प्रभाव देखिन सक्छ ।

भारत रुसबाट छुटमा तेल खरिद गर्छ, जुन भारतको समग्र आर्थिक सन्तुलनमा सकारात्मक असर पारिरहेको छ। यदि अमेरिकी दबाबले भारतले रुसबाट तेल खरिद घटाउन बाध्य भयो भने भारतमा तेलको मूल्य बढ्न सक्छ । जसको सिधा प्रभाव नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा देखिन सक्छ।

अमेरिका दक्षिण एसियामा चीन र रुसको प्रभाव रोक्न चाहन्छ। भारतमाथिको दबाबसँगै उसले नेपालजस्ता देशलाई पनि अप्रत्यक्ष रूपमा सार्वजनिक रूपमा पक्ष लिन दबाब दिन सक्छ, जुन नेपालको तटस्थ परराष्ट्र नीतिसँग टकराउन सक्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button