No Image Headlineखबर फटाफटदेशमुख्य खबर

देशभर मनसुनी प्रभाव सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई भूभाग नजिक, सरदर स्थानको उत्तरतर्फ अवस्थित छ, जसको असरस्वरूप देशभर मौसमी गतिविधि तीव्र बनेको छ।

हाल देशभर पूर्ण रूपमा बदली भएको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको मौसमसमेत यस्तै रहने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरू तथा अन्य पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागसँगै बागमती प्रदेशको पहाडी क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आगामी केही दिनसम्म मधेश प्रदेशसहित देशभर मनसुन थप सक्रिय हुने प्रक्षेपण गरिएको छ। यसै सन्दर्भमा महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी जानकारी लिएर आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button