No Image Headlineअर्थमुख्य खबर

सरकारी नीतिको अव्यवहारिकताले संकटमा देशकै नमूना आहारपूरक उद्योग

बारा–पर्सा औद्योगिक कोरिडोरमा स्थापना भएको आहारपूरक उत्पादन उद्योग ‘जयश्री हेल्थ केयर’ सञ्चालनमा आएको तीन महिनामै संकटमा परेको छ। सरकारले अवलम्बन गरेका अव्यावहारिक नीति तथा प्रक्रियागत झमेलाका कारण उद्योग बन्द हुने स्थितिमा पुगेको उद्योगका प्रबन्ध सञ्चालक साकेत क्यालको गुनासो छ।

क्यालका अनुसार कच्चा पदार्थ आयातदेखि उत्पादन दर्ता र बजारीकरणसम्मका सबै प्रक्रिया जटिल र विसङ्गतिपूर्ण छन्। सरकारले आहारपूरक उद्योगलाई औषधी उद्योगसरह सहुलियत नदिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

‘औषधी उद्योगले १ प्रतिशत भन्सार महसुल तिरेर कच्चा पदार्थ आयात गर्न पाउँछ भने हामीलाई ६० प्रतिशतसम्म महसुल तिर्न बाध्य बनाइएको छ,’ क्यालले भने। उनका अनुसार यस विषयमा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको छैन।

स्वास्थ्यमा सुधार ल्याउने र सन्तुलित भोजनको पूरकका रूपमा लिइने आहारपूरक सामग्रीलाई सरकारले न त सहुलियत दिएको छ, न त प्रोत्साहन नै। अर्कोतर्फ, विदेशी आहारपूरक उत्पादन विभागमा दर्ता नगरी आयात भइरहेकाले स्वदेशी उत्पादन थप मारमा परेको क्यालको आरोप छ।

‘हामी एउटा उत्पादन दर्ता गर्न महिनौंदेखि विभागमा धाइरहेका छौं तर विदेशी उत्पादन भने सजिलै दर्ताविनै बजारमा आइरहेका छन्,’ क्यालले गुनासो गरे।

औषधी व्यवस्था विभागले अनुगमनको नाममा आहारपूरक जफत गर्ने, कारबाही गर्ने र भ्रम फैलाउने कार्य गरेको आरोप पनि उद्योगीले लगाएका छन्। न्यायालयले समेत एउटै व्यवसायमा एक निकायले अनुमति दिँदा अर्को निकायले रोक लगाउन नहुने ठहर गर्दै तीन महिनाभित्र विज्ञको राय लिएर समस्या समाधान गर्न आदेश दिएको थियो। तर, आदेशको पालना नभएको क्यालको भनाइ छ।

४० करोड रुपैयाँको लगानीमा स्थापना गरिएको जयश्री हेल्थ केयर हाल वार्षिक कारोबार ६० लाख रुपैयाँमा सीमित रहेको छ। कारोबार नघटेसँगै बैंकले थप कर्जा दिन नमानेपछि कामदारको तलबसमेत बजारबाट ऋण लिएर तिर्नुपरेको अवस्था आएको क्यालले बताए।

‘सरकारी सहजीकरण नभए उद्योग बन्द गर्नुबाहेक विकल्प छैन,’ उनले चेतावनी दिए। सरकारको नीतिगत अव्यवस्थाले उद्यमशीलता निरुत्साहित बनाउने खतरा बढेको भन्दै सरोकारवालाहरूले तत्काल नीतिगत पुनरावलोकनको माग गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button