एअर इन्डिया विमान दुर्घटना दुर्घटनाअघि दुवै इन्जिनमा इन्धन जाने स्विच बन्द भएको प्रतिवेदनको ठहर

गत महिना २६० जनाको ज्यान जाने गरी भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले विमान दुर्घटनाअघि दुवै इन्जिनमा इन्धन जाने स्विच बन्द गरिएको पाइएको जनाएको छ। अनुसन्धानकर्ताहरूले यसमा कसैमाथि दोष लगाएका छैनन् र चालकहरूबीच अलमल भएको हुनसक्ने आकलन गरेका छन्।
भारतको अहमदाबादबाट विमान उड्ने बित्तिकै दुर्घटनामा परेको थियो। भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा दुई जना पाइलटले अन्तिम समयमा त्यस विषयमा कुराकानी समेत गरेको उल्लेख छ।
ककपिटको भ्वाइस रेकर्डिङमा एक जना पाइलटले अर्को पाइलटलाई इन्धनको स्विच बन्द गरेको विषयमा सोधेको र अर्का पाइलटले आफूले बन्द नगरेको जबाफ दिएको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये कुन आवाज पाइलट र कुन चाहिँ कोपाइलटको हो भन्ने प्रतिवेदनमा प्रस्ट छैन।
विमानको उडान को(पाइलटले सम्हालिरहेका थिए भने क्याप्टेनले त्यसमा निगरानी गरिरहेका थिए। एअर इन्डियाका प्रवक्ताले अनुसन्धान गर्ने निकायहरूलाई कम्पनीले पूर्ण सहयोग गरिरहेको बताएका छन्।
एक महिना अघि भएको दुर्घटनामा कम्तीमा २६० जनाको मृत्यु भयो। लन्डनका लागि उडेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। विमानमा सवार २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एक जना ब्रिटिश यात्रु मात्रै दुर्घटनामा बाँचेका थिए।
एएआईबीले तयार गरेको १५ पृष्ठको प्रारम्भिक प्रतिवेदनमा एअर इन्डियाको विमान उडेको केही सेकेन्डपछि के भयो भन्ने विवरण दिइएको छ। विमानले स्थानीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा १८० नटको अधिकतम गति लिएको र त्यस लगत्तै एक सेकेन्डको फरकमा इन्जिन १ र इन्जिन २ को लागि इन्धन प्रवाह हुने स्विचहरू रनबाट कटअफको स्थितिमा राखियो, प्रतिवेदनमा भनिएको छ।
त्यसपछि ककपिट भ्वाइस रेकर्डिङमा एक जना पाइलटले अर्को पाइलटलाई किन बन्द गरेको भनेर सोधेको सुनिन्छ। अर्को पाइलटले आफूले त्यसो नगरेको जबाफ दिन्छन्, प्रतिवेदनमा भनिएको छ।
त्यसको १० सेकेन्डमै पहिलो इन्जिनमा इन्धन प्रवाह हुने स्विच पुन खोलिन्छ अर्थात् कट अफबाट रनमा लगिन्छ। त्यसको अर्को चार सेकेन्ड पछि दोस्रो इन्जिनमा इन्धन प्रवाह हुने स्विच पनि रनमा लगिन्छ, यति हुँदा १४ सेकेन्ड बितेको प्रतिवेदन उल्लेख छ।
पुन त्यसको नौ सेकेन्ड पछाडि एक जना पाइलटले जमिनमा रहेका हवाई ट्राफिक नियन्त्रण अधिकारीहरूलाई आपत्कालिन अवस्थामा पठाइने ूमे डेू सन्देश पठाएको प्रतिवेदनमा उल्लेख छ। तर हवाई ट्राफिक अधिकारीहरूले त्यसपछि कुनै प्रतिक्रिया नपाएको र त्यस लगत्तै विमान दुर्घटनाग्रस्त भएको देखेका जनाइएको छ।
इन्धनका स्विचहरू ुरनु मा लैजाने बित्तिकै स्वचालित रूपमा इन्जिन चालु हुने गर्छ। दुई मध्ये एउटा इन्जिन पुन चालु भए पनि अर्कोले थ्रस्ट अर्थात् जोड लगाउन नसकेको प्रतिवेदन उल्लेख छ।
विमानस्थलका सीसीटीभी दृश्यहरूमा चराको कुनै पनि गतिविधि नदेखिएको उल्लेख छ। यसअघि चराको ठक्करबाट विमान दुर्घटना भएको आशङ्का पनि गरिएका थिए। उक्त प्रतिवेदनले कुनै पनि ठोस निष्कर्ष निकालेको छैन र अनुसन्धान जारी रहेको उल्लेख गरेको छ।
बीबीसीको रिपोर्टमा आधारित



