देशमुख्य खबर

रसुवामा भीषण बाढी: आठको मृत्यु, दर्जनौं बेपत्ता

रसुवा जिल्लाको ल्हेन्देखोलाबाट आएको आकस्मिक बाढीले आठ जनाको ज्यान गएको छ भने कम्तीमा २० जना अझै बेपत्ता छन्। तीमध्ये छ चिनियाँ नागरिक रहेका छन्। बाढीले नेपाल–चीन सीमास्थित मितेरीपुल पूरै बगाएको छ, जसका कारण रसुवागढी नाका हुँदै हुने आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ।

बाढीबाट रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक अवरुद्ध भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जनाएका छन्।

नेपालको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले बाढी हिमताल विस्फोट ग्लेसियल लेक आउटबर्स्ट फ्लड का कारण आएको हुन सक्ने प्रारम्भिक संकेत गरेको छ। विभागले तिब्बत क्षेत्रबाट मंगलबार बिहान ३ बजेतिर ठूलो पानीको बहाव प्रवेश गरेको जानकारी दिएको छ।

रसुवागढी भन्सार नजिकै रहेका कन्टेनर तथा अन्य सवारीसाधन बाढीले बगाएको छ। रसुवा प्रहरीका अनुसार हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने बाढीले प्रभावित गोसाईँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका वडामा उद्धार कार्य जारी छ।

रसुवाबाट १८ जना सम्पर्कविहीन रहेको पुष्टि भएको छ। तीमध्ये नेपाल प्रहरीका तीन जना, तीन सवारी चालक, छ जना नेपाली मजदुर र छ जना चिनियाँ नागरिक छन्। सशस्त्र प्रहरी बलका अनुसार हराइरहेका मध्ये नौ जना रसुवागढी भन्सार यार्डमा कार्यरत थिए।

“मितेरीपुल पुग्ने सडकसमेत बगाएको हुँदा मानिसहरू बाटोमै अलपत्र परेका छन्,” प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनका अनुसार रसुवा जलविद्युत् आयोजनाबाट २० जनाको उद्धार गरिएको छ। साथै, दुई सुरक्षाकर्मी र सात सर्वसाधारणलाई पनि विभिन्न स्थानबाट सुरक्षित उद्धार गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बाढी आएको ल्हेन्देखोलामा पानीको सतह क्रमशः घटिरहेको जानकारी दिएका छन्। निजी हवाई सेवा प्रदायक कम्पनीहरूले प्रभावितहरूलाई टिमुरेबाट उद्धार गरिरहेका छन्।

भोटेकोशी नदी (स्थानीय नाम) जलाधार क्षेत्रमा २४ घण्टामा उल्लेख्य वर्षा नभएको तथा उक्त क्षेत्र हिमतालहरू रहेको हुँदा हिमताल विस्फोटबाट बाढी आएको हुन सक्ने जल तथा मौसम विज्ञान विभागको आकलन छ। यसै सन्दर्भमा बाढीको प्रभाव पत्ता लगाउन ‘सेन्टिनल एशिया प्ल्याटफर्म’ मार्फत भू-उपग्रह तस्बिर संकलन प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ।

यसअघि रसुवागढी प्रहरी चौकीले जारी गरेको विज्ञप्तिमा बिहान ४ बजे बाढी आएर मितेरीपुल पूर्ण रूपमा बगाएको र त्यहाँ रहेको विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन, सात–आठवटा सवारीसाधन, भन्सार कार्यालय र रसुवागढी हाइड्रोपावर ड्याममा क्षति पुर्याएको जनाएको थियो।

बाढीको असर छिमेकी नुवाकोट जिल्लामा समेत देखिएको छ। त्रिशूली नदीमा फसेका ६६ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती मङ्गली तामाङलाई रूख चढेर तीन घण्टा बिताएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उनीहरूलाई त्रिशूली अस्पतालमा भर्ना गरिएको छ, जहाँ मङ्गलीको रक्तचाप बढेको तथा मानसिक आघातका लक्षण देखिएको चिकित्सकहरूले बताएका छन्।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय निकायका टोली उद्धार र राहत कार्यमा जुटेका छन्। प्रहरीका अनुसार १२० भन्दा बढी सुरक्षाकर्मी घटनास्थलमा परिचालित छन्।

बाढीका कारण सीमावर्ती व्यापार, यातायात र सञ्चार पूर्ण रूपमा अवरुद्ध भएको छ। अधिकारीहरूले थप क्षतिको मूल्याङ्कन भइरहेको र बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button