विश्व मौसम संगठनको चेतावनी : भविष्यमा गर्मीको लहर अझ तीव्र हुन सक्छ

जेनेभा । विश्व मौसम संगठन (डब्लुएमओ) ले हाल देखिएको अत्यधिक गर्मीको लहरलाई भविष्यमा अझ तीव्र र घातक हुने चेतावनी दिएको छ । संगठनले विश्व समुदायलाई यस्ता तापीय लहरसँग जोगिन र सामना गर्न अग्रिम तयारी गर्न आग्रह गरेको छ ।
डब्लुएमओका प्रवक्ता क्लेर नलिसले जेनेभाबाट जानकारी दिंदै भने, ‘‘उत्तरी गोलार्धमा जुलाइ महिनामा सामान्यतया अत्यधिक गर्मी हुने गर्छ । तर यसपटक गर्मी याम सुरु हुँदैनै असाधारण रूपमा उच्च तापक्रम देखिनु चिन्ताजनक हो ।’’
नलिसले अत्यधिक गर्मीलाई ‘शान्त घातक’ (साइलेन्ट किलर) भन्दै यसबाट हुने मानवीय क्षति आँधी, बाढी वा वर्षाजस्ता अन्य प्राकृतिक प्रकोपहरूसँग बराबर गम्भीर हुन सक्ने बताए । ‘‘तर औपचारिक तथ्यांकमा यस्ता क्षति प्रायः कम देखिन्छ,’’ उनले थपे ।
उनका अनुसार गर्मीजन्य मृत्युहरू प्रायः पूर्व जानकारी र तयारीको माध्यमबाट रोकिन सक्ने खालका हुन्छन् । ‘‘हामीसँग पर्याप्त सूचना, प्रविधि र पूर्वतयारीका उपायहरू छन् । तिनको प्रभावकारी उपयोग गरेर जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ,’’ उनले उल्लेख गरे ।
प्रवक्ताले पश्चिमी युरोपमा अहिले उच्च वायुमण्डलीय दबाब कायम रहेको र उत्तर अफ्रिकाबाट आएको तातो हावा थुनिएर बसेकाले तापक्रम अस्वाभाविक रूपमा बढेको जानकारी दिए । ‘‘यो अवस्थाले मानिसहरूको दैनिक जीवनशैली र स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ,’’ उनले भने ।
भूमध्यसागर क्षेत्रमा समुद्री सतहको तापक्रम अत्यधिक बढिरहेको र त्यसको प्रभाव स्थल भागमा समेत महसूस भइरहेको डब्लुएमओले जनाएको छ । ‘‘समुन्द्रको तापक्रम वृद्धि हुँदा स्थल क्षेत्रमा गर्मीको लहर थप बलियो हुने गर्छ,’’ नलिसले बताए ।
शहर क्षेत्रहरूमा हरियालीको अभाव र पक्की संरचनाहरूबाट ताप सोस्ने क्षमतामा कमी भएकाले गर्मीको असर ग्रामीण क्षेत्रमा भन्दा बढी देखिने प्रवक्ताको भनाइ छ ।
संगठनले सबै सम्बन्धित निकायहरूलाई जनसुरक्षाका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउने, समन्वित कार्ययोजना तयार गर्ने र थप सक्रिय तथा सजग रहन आग्रह गरेको छ ।



