गाजाको क्याफेमा इजरायली आक्रमण, कम्तीमा २० जनाको मृत्यु

गाजाको एक व्यस्त क्याफेमा इजरायली आक्रमण हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ। स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार गाजाको ‘अल बाका क्याफ्टेरिया’ नामक क्याफेमा भएको आक्रमणबाट ठूलो जनधन क्षति भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार उद्धार टोलीले घटनास्थलबाट अहिलेसम्म २० वटा शव निकालिसकेको छ भने धेरै घाइतेहरूको उद्धार गरिएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा आक्रमणपछि आगो र धुवाँको गुब्बार फैलिएको स्पष्ट देखिन्छ।
एक स्थानीय क्यामेरा पर्सनले इन्टरनेट सेवा नपाएर उक्त क्याफेमा गएको बेला आक्रमण भएको बताए। उनले भने, “इन्टरनेट चलाउन म त्यहाँ पुगेको थिएँ, पुग्ने बित्तिकै विस्फोट भयो।”
इजरायलले गाजामा हाल भइरहेका आक्रमणहरूलाई त्यस क्षेत्रलाई खाली गराउने रणनीतिसँग जोडिएको बताइएको छ। युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदाय विशेष गरी अमेरिका लगायतका निकायहरूले दबाब दिइरहे पनि इजरायलले आक्रमण जारी राखेको छ।
गत जनवरी १९ मा भएको पछिल्लो युद्धविराम मार्चमा समाप्त भएपछि इजरायलले गाजामा पुनः आक्रमण तीव्र पारेको हो। पछिल्ला केही सातादेखि इजरायली आक्रमण झनै बढेको छ।
मानवीय सहायता आपूर्ति रोकिएको र ११ सातासम्म प्रभावित क्षेत्रमा राहत पुर्याउन नदिएको भन्दै अन्तर्राष्ट्रिय निकायहरू इजरायलप्रति कडा आलोचनात्मक बनेका छन्। यद्यपि इजरायलले आक्रमणलाई हालसम्म पनि निरन्तरता दिएको छ।



