
इरानमा रहेका नेपालीलाई भारतले आफ्ना नागरिकसहित उद्धार गर्ने प्रतिबद्धता जनाइरहँदा इजरेलमा रहेका नेपालीहरूको हकमा भने अझै स्पष्ट उद्धार योजना बनेको छैन। इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार त्यहाँ रहेका नेपालीहरूको ठूलो संख्या र भौगोलिक जटिलताका कारण तत्कालै उद्धारको ढोका खुल्ने सम्भावना कम देखिन्छ।
इरानमा जम्मा १७ जना नेपाली रहेको र उनीहरूलाई अन्य देशको उद्धार प्रयासमा समेट्न सहज भए पनि इजरेलमा करिब पाँच हजार नेपाली छन्। राजदूत पण्डितका अनुसार, “त्यति ठूलो संख्यामा रहेका नेपालीहरूलाई समेट्ने विषयमा सोही प्रारूपले काम गर्ला भन्ने छैन।”
दूतावासका अनुसार हालसम्म इजरेलबाट नेपाल फर्कन चहान्ने नेपालीको सङ्ख्या झण्डै दुई दर्जन मात्रै छ। तर धेरै नेपालीले तत्काल फर्कन नचाहेको जनाउँदै, “उद्धारको सुनिश्चितता भएपछि मात्र सोच्ने” अभिव्यक्ति दिएका छन्।
राजदूत पण्डितका अनुसार, “हामीसँग सम्पर्कमा आएका धेरै नेपालीले फर्किएपछि रोजगारी कायमै रहने हो कि होइन, पुनः इजरेल फर्कन सकिन्छ कि सकिँदैन भन्नेबारे चासो देखाएका छन्।”
इजरेलमा व्यावसायिक उडानहरू ठप्प भएको अवस्थाले गर्दा उद्धारका लागि स्थल मार्ग प्रयोग गर्नुपर्ने देखिएको छ। जोर्डन वा इजिप्टमार्फत् उद्धार सम्भव देखिए पनि, भिसा प्रक्रिया जटिल रहेको राजदूतको भनाइ छ। उनले भने, “नेपालीलाई जोर्डन वा इजिप्टमा अन अराइभल भिसा छैन। भिसाका लागि चाप धेरै छ, प्रक्रिया सहज छैन।”
शुक्रवार परराष्ट्र, श्रम तथा गृह मन्त्रालयका प्रतिनिधिसहितको बैठकमा जोर्डन सरकारले आवश्यक परेको खण्डमा नेपालीको उद्धार प्रक्रियामा सहजीकरण गर्ने आश्वासन दिएको एक अधिकारीले जनाएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उद्धारको लागि आवेदन खुला गरेपछि हालसम्म ६०० भन्दा बढी नेपालीले फारम भरेका छन्। महाशाखा प्रमुख जीवलाल भुसालका अनुसार, “हामीले तीनवटा मन्त्रालय मिलाएर एकीकृत कार्यदल बनाई काम गरिरहेका छौँ। साँच्चिकै फर्कन चाहनेको सङ्ख्या बढेमा उद्धार सुरु हुनेछ।”
जोर्डनको बाटो नेपालीका लागि तुलनात्मक रूपमा सहज मानिए पनि त्यसका लागि पनि उडान टिकट, होटल बुकिङलगायतका विवरण देखाउनुपर्ने अवस्था रहेको छ। भिसा प्रक्रिया जटिल हुँदा व्यक्तिगत रूपमा निस्कन प्रयास गरिरहेका नेपाली चिकित्सकलाई समेत फारम भर्न गाह्रो भइरहेको जानकारी दिइएको छ।
त्यहाँ रहेका गैरआवासीय नेपाली संघ, इजरेलका पूर्वअध्यक्ष गणेश गिरीका अनुसार, “इजरेलले आफ्ना कामदारहरूलाई दिने सबै सुविधा नेपालीलाई पनि दिइन्छ। कृषिक्षेत्रमा केही जोखिम भए पनि सुरक्षा उपाय कडा छन्।”
तर उनी स्वीकार्छन्, “स्थलमार्ग बाहेक समुद्री मार्ग हुँदै साइप्रस जान सकिने विकल्प भए पनि त्यस्तो प्रयास कूटनीतिक तहबाट नगरेसम्म सहज हुँदैन।”
इजरेलमा अधिकांश नेपाली वृद्धवृद्धा, बिरामी तथा अपाङ्गताको हेरचाह गर्ने केयरगिभरको रूपमा कार्यरत छन्। त्यसैले पनि उनीहरू काम छाडेर तत्काल फर्कन सहज छैन।
भारतले भने गत बिहीवार इजरेलबाट आफ्ना नागरिक फर्काउने योजना सार्वजनिक गरेको थियो। भारतले जोर्डनको अम्मानसम्म बसमा लगेर त्यहाँबाट विमानमार्फत उद्धार गर्ने योजना बनाएको छ।
राजदूत पण्डितका अनुसार, “भारतीय राजदूतसँगको अनौपचारिक संवादमा केही अत्यावश्यक नेपालीलाई पनि उद्धारमा समेट्ने कोसिस गरिने आश्वासन पाएको छु।”
हाल इजरेली विमान सेवाले आफ्ना नागरिकका लागि उद्धार उडान मात्र सञ्चालन गरिरहेको छ। इजिप्टको काएरो पुग्न २० घण्टा लाग्ने भए पनि जोर्डनको अम्मान सात घण्टामा पुगिन्छ। तर सीमामा देखिएको चापका कारण त्यहाँ पनि घण्टौँ अल्झिनुपर्ने अवस्था देखिएको छ।
यसबीच कैयौँ युरोपेली र एशियाली मुलुकहरूले इरान र इजरेल दुवैबाट आफ्ना नागरिक फिर्ता ल्याउने काम थालेका छन्। नेपालले भने अझैसम्म आफ्नै उद्धार उडान वा वैकल्पिक उपायबारे ठोस निर्णय गर्न सकेको छैन।



