आईसीपी भन्सारले ११ महिनामा उठायो १ खर्ब ५८ अर्ब राजस्व, लक्ष्यको ८० प्रतिशत मात्रै
नेपाल–भारत सीमास्थित प्रमुख नाका आईसीपी भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा कार्यालयले कुल राजस्व लक्ष्यको झण्डै ८० प्रतिशत मात्र प्राप्त गरेको हो। चालु आर्थिक वर्षको असारदेखि जेठ महिनासम्मको लागि कार्यालयलाई १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य तोकिएको थियो।
बितेको जेठ महिनामा मात्रै कार्यालयले १८ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन सो महिनाको लक्ष्य (२० अर्ब ७३ करोड) को ८७.९१ प्रतिशत हो।
राजस्व संरचनामा डिजेल र पेट्रोलबाट सबैभन्दा बढी योगदान रहेको भन्सारको तथ्यांकले देखाएको छ। त्यस्तै, मोटरसाइकल, स्टिल तथा आइरन पाइप, कपडा, इन्जिन पार्ट्स, चकलेट, प्लास्टिकका सामग्री र फलफूलजस्ता वस्तुहरू प्रमुख आयातित वस्तुका रूपमा रहेका छन्।
भन्सारले राजस्व योगदानका आधारमा आयातित शीर्ष २० वस्तुहरूको सूची तयार गरेको छ, जसमा अधिकांश वस्तु भारतबाट आयात गरिएको जनाइएको छ।
प्रमुख नाकाका रूपमा रहेको वीरगञ्जको आईसीपी भन्सार कार्यालयले राजस्व संकलनमा देशकै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। यद्यपि, पछिल्लो समय लक्ष्यअनुसारको संकलन नहुनु चुनौतीको रूपमा देखिएको छ।



