
मनसुन सुरु भएसँगै देशका प्रमुख राजमार्ग तथा सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध हुन थालेका छन्। राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य सडकहरूमा बाढीपहिरोले क्षति पुर्याएको छ।



यस वर्ष देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। यस्तो अवस्थामा मानिसको आवागमन र अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीमा व्यापक अवरोध आउन सक्ने विज्ञहरूको चेतावनी छ। तर, सरकारको पूर्वतयारी भने पर्याप्त नदेखिएको उनीहरूको भनाइ छ।



तर, सरकारी अधिकारीहरूले भने क्षति पुगेका संरचनाहरूको मर्मत भइरहेको र संभावित विपद्का लागि तयारी भइरहेको दाबी गरेका छन्।



पूर्व–पश्चिम राजमार्गमा अवरोध
नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार नवलपरासी पूर्वको विनयी खोलामा बाढी आउँदा डाइभर्सन सडक बगाएर पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। केही महिना अघि सोही स्थानको पक्की पुल अत्यधिक भार भएको ट्रकले भत्काएपछि अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भने, “पुल बनिसकेको छैन, डाइभर्सन पनि बाढीले बगाएको छ। साना सवारी घुम्ती बाटो प्रयोग गरिरहेका छन् तर भारी सवारी रोकिएको छ।”
उनका अनुसार निर्माणाधीन नयाँ पुल २० दिनभित्र सञ्चालनमा ल्याउने तयारी छ। त्यसअघि वैकल्पिक डाइभर्सन नै प्रयोग गर्नु पर्नेछ।
अरनिको राजमार्ग पनि अवरुद्ध
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो खस्दा अरनिको राजमार्गका कोदारी, लार्चा र कोप्लाङ खण्डहरू अवरुद्ध भएका छन्। राजधानीलाई चीनको तातोपानी नाका जोड्ने यो प्रमुख मार्गमा मालबाहक गाडीहरू बीचमै रोकिएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार लगातार पहिरो खसिरहेकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ। “स्थानीय रूपमा पहिरो हटाउने प्रयास भइरहे पनि केन्द्रीय पहल आवश्यक छ,” उनले बताए।
अन्य सडकहरूको अवस्थासमेत जटिल
प्रहरीका अनुसार गुल्मीमा पहिरो जाँदा कालीगण्डकी कोरिडोर, ललितपुरमा कान्ति लोकपथ, जुम्ला–मुगु सडक र रवि–राँके–भेडेटार सडकसमेत प्रभावित भएका छन्। केही ठाउँमा सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।
सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार धेरै ठाउँमा उपकरणसहितको टोली खटाइएको र समस्या देखिने बित्तिकै तत्काल मर्मतको व्यवस्था गरिएको छ।
विनयी खोलाको पुल ११ दिनअघि ढलान गरिएको र बाँकी १० दिनमा सञ्चालनमा ल्याइने उनले बताए। “त्यसपछि समस्या हट्छ,” अर्यालले भने।
दाउन्ने खण्ड र भारी ट्रकको समस्या
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा निर्माणाधीन सडक महिनौँदेखि हिलाम्मे अवस्थाले समस्या निम्त्याइरहेको छ। वर्षा हुनासाथ दुर्घटनाको जोखिम बढ्ने र लामो जाम लाग्ने अवस्था देखिएको छ।
“ग्राभेल गरेर साना गाडी चलाउने व्यवस्था मिलाउँदैछौं। भारी ट्रकहरूलाई अन्य नाकाबाट मात्र प्रवेश गराउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएका छौं,” अर्यालले बताए।
इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहप्राध्यापक तथा संरचना विज्ञ जगतकुमार श्रेष्ठका अनुसार नेपालमा बर्खायाममा सडक अबरुद्ध हुनुको मूल कारण भनेकै सडक र पुलको वैज्ञानिक रेखाङ्कन तथा निर्माण नहुनु हो।
उनले भने, “बाढीपहिरोको सम्भावना भएको स्थानमै संरचना बनाइन्छ। कडा चट्टान भएको ठाउँ छान्नु पर्ने हो। माटो खुकुलो भएमा संरचना बलियो बनाउनुपर्ने हो।”
श्रेष्ठका अनुसार समयमा मर्मत नहुनु, जीर्ण संरचनाको प्रयोग, गुणस्तरहीन निर्माण सामग्री र सीप नभएका कामदारबाट निर्माण गरिनुजस्ता कारणले समस्या झन गम्भीर बन्न गएको छ।
२०७२ सालको भूकम्पपछि पहाडमा चिरा परेका ठाउँमा पानी पस्दा पहिरो बढेको अध्ययनले देखाएको भन्दै उनले भने, “हाम्रो भौगोलिक अवस्था कमजोर छ। पूर्वतयारी, गुणस्तर र निगरानी सबै पक्षमा सुधार नगरेसम्म समस्या दोहोरिइरहन्छ।”
मनसुनको सुरुवातसँगै सडक अवरुद्ध हुने समस्या देशव्यापी रूपमा देखिएको छ। सरकारी दाबी, पूर्वतयारी र कार्यान्वयनको अवस्था बीचको अन्तर, साथै प्राविधिक कमजोरीका कारण यो समस्या झन् गहिरिँदै गएको छ। दीर्घकालीन समाधानका लागि तत्कालीन कामसँगै समग्र रणनीतिक सुधार आवश्यक देखिएको छ।