देशका अधिकांश भूभागमा आंशिकदेखि साधारण बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मनसुनी वायु सक्रिय रहेको जनाएको छ। साथै लुम्बिनी प्रदेशको पूर्वी भागमा समेत मनसुनी प्रभाव देखिएको छ। देशको पश्चिमी भागमा भने पश्चिमी वायु तथा स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको महाशाखाले जनाएको छ।



महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली भएको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। सातैवटै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।



आज राति पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ। यसदिन सूर्य बिहान ५ बजेर ८ मिनेटमा उदाएको थियो भने साँझ ७ बजेर २ मिनेटमा अस्ताउनेछ।